गीतकार किरण खरेललाई जगदम्बा-श्री पुरस्कार, वीणा जोशीको पुस्तकलाई मदन पुरस्कार

काठमाडौं – मदन पुरस्कार गुठीले २०८२ सालको जगदम्बा-श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीको शनिबार बसेको साधारण सभाले छ दशकदेखि गीत लेखनमा समर्पित खरेललाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो।

त्यसैगरी, २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ।

गुठीका अनुसार उक्त पुस्तकले नेवार समुदायमा सामुदायिक अभ्यासका रूपमा रहेको परम्परागत मुकुन्डोनाचको सङ्कलन तथा अभिलेखीकरण गरेको छ।

मदन पुरस्कारका लागि यस वर्ष २९८ वटा पुस्तक प्राप्त भएका थिए। तीमध्ये अज्ञात, इथा, उत्कर्ष, नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, नेवार समुदायका परम्परागत मुकुन्डोनाच, परिधि, महायुग, सलह, स्वस्पर्शहिउँद गरी १० पुस्तक ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ का लागि छनोट भएका थिए।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपटक २०१३ सालमा मदन पुरस्कार प्रदान गरेको थियो। नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिँदै आएको छ।

त्यस्तै, नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा विभिन्न माध्यमबाट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गरिन्छ। रानी जगदम्बाको सम्झनामा २०४५ सालमा स्थापना गरिएको यो सम्मान पहिलोपटक वरिष्ठ गायक नारायण गोपाललाई प्रदान गरिएको थियो।

Degrees offered in nepal
Counseling