Edusanjal

एसईईमा नयाँ व्यवस्था

यस वर्षबाट एसईई परीक्षामा दृष्टिविहीन विद्यार्थीका लागि नक्सामा स्थान भर्ने वा चित्र रचना गर्ने प्रश्न नसोधिने भएको छ ।

त्यस्ता विद्यार्थीहरुले दिइएको नक्सामा स्थान औँल्याउनुपर्ने वा चित्र रचना तयार गर्नुपर्ने हुँदा त्यस्ता प्रश्न हल गर्न पाउँदैन थिए ।

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले दृष्टिविहीन विद्यार्थीले हल गर्न नसक्ने त्यस्ता प्रश्नको सट्टा अन्य वैकल्पिक प्रश्न सोधिने जानकारी दिए । गणित, विज्ञान र सामाजिक विषयमा दृष्टिविहीन विद्यार्थीलाई समस्या आउने गरेको छ ।

“चित्र बनाउनुहोस्, नक्सामा स्थान देखाउनुहोस् लगायत खाले प्रश्न सोधिने गरेकोमा अब तिनको सट्टामा व्याख्या गर्ने प्रश्न दिइनेछ” उनले भने, “प्रश्नपत्रमै वैकल्पिक प्रश्नमा ‘दृष्टिविहीन विद्यार्थीका लागि मात्र’ भनेर उल्लेख हुनेछ । सामान्य विद्यार्थीले ती प्रश्नको हल गर्न पाइनेछैन ।” दृष्टिविहीन विद्यार्थीले सहयोगी राखेर परीक्षा दिन पाउने व्यवस्था सुरुदेखि नै छ ।

हात नभएका विद्यार्थीका लागि प्रयोगात्मक परीक्षा र श्रवणशक्ति कमजोर भएका विद्यार्थीका लागि सुनाइ सीप परीक्षामा अङ्क प्रदान गर्ने फरक नीति आवश्यक भएको धेरै अघिदेखि नै सरोकारवालाले माग गर्दै आएका छन् । दृष्टिविहीनका लागि गरिएको माग बल्ल यसपटकबाट सुनुवाइ हुने भएको छ ।

कक्षा ११ को परीक्षा अनिर्णित

कक्षा ११ को परीक्षाका बारेमा राष्ट्रिय परीक्षा बोर्डले अझै निर्णय गर्न सकेको छैन ।

गत वर्ष कोभिड–१९ का कारण विद्यालय आफैले परीक्षा सञ्चालन गरी प्राप्ताङ्क बोर्डमा पठाउने र सोही प्राप्ताङ्कलाई बोर्डले मान्यता दिने विधि अपनाइएको थियो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा ११ को परीक्षा विधिका बारेमा छलफल हुनु जरुरी भए पनि अझै त्यस विषयमा प्रवेश नै नगरिएको बताए ।

“गत वर्षभन्दा नयाँ विधिमा जानुपर्दछ भन्ने सोचिएको छ” उनले भने, “एकरुपता हुने भएकाले प्रश्नपत्र पनि हामीले नै तयार गरिदिनुपर्दछ भन्ने हो । त्यसका लागि छलफल गरेर टुङ्गो लगाउन बाँकी छ ।” उनका अनुसार प्रश्नपत्र बोर्डले तयार गरे पनि परीक्षा विद्यालयले नै सञ्चालन गर्ने विधि हुनसक्दछ । 

उनले कक्षा ११ को परीक्षा आगामी असार महिनामा सञ्चालन हुनसक्ने बताउँदै थपे, “ढिला गरेर पठनपाठन सुरु भएको छ । त्यसैले जेठमा परीक्षा सम्भव नहोला । असारमा परीक्षा हुनसक्दछ । कुन महिनामा परीक्षा सञ्चालन गर्ने भन्ने बोर्डले निर्णय गरेमा परीक्षा तालिकाका बारेमा पनि बोर्डले नै निर्णय गरिदिनसक्दछ ।” कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रीटका सम्बन्धमा सर्वाेच्च अदालतले ढिला निर्णय गरेका कारण पठनपाठन ढिला गरी सुरु भएको थियो । 

pre school