Edusanjal

नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका विद्यालयलाई भवन दिने र भवन भएकालाई आइसिटी ल्याव दिने काम शुरु भइसकेको उनले बताए ।

शिक्षा पत्रकार समूहको २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बोल्दै मन्त्री पौडेलले राष्ट्रिय पुस्तकालय र शिक्षक अस्पताल निर्माणको काम अघि बढिसकेको बताए ।

संघीय शिक्षा ऐनलगायत शिक्षाका ४ ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले उक्त ऐनले वर्तमान शिक्षाका धेरै समस्या समाधान गर्ने बताए । शिक्षामा सामान्य सुधार गरेर नपुग्ने आमूल परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै मन्त्री पौडेलले भने– ‘मन्त्रालय एक्लैले केही गर्न सक्दैन, सबैको साथ र सहयोग आवश्यक हुन्छ ।’ एकअर्कालाई दोषारोपण गर्न छाडेर सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले शिक्षामा एकातिर समस्या र समाधान अर्कोतिर हुँदा अस्तव्यस्तता कायमै रहेको बताए । शिक्षा पत्रकारिता पछिल्लो समय जानकारी दिने मात्रै भन्दा पनि विश्लेषणतिर उन्मुख हुँदै गएको टिप्पणी गरे । यस्तै शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले सरकारले शिक्षण सिकाइ पुरा गर्न भन्दा शैक्षिक सत्र भित्रै पाठ सक्न मात्रै लागी परेकोमा आपत्ती जनाए । सरकारले सिकाइमा भन्दा पढाइमा ध्यान दिएको आरोप लगाउँदै  चैत भित्र जसरी नि कोर्स सक्नु भनेर निर्देशन दिनु गलत भएको उनको भनाइ थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षाका समस्या समाधानउन्मुख रहेका भन्दै परीक्षा प्रणालीमा वैज्ञानिक सुधार गर्न लागीपरेको बताए । वरिष्ठ शिक्षा पत्रकार राजेन्द्र दाहालले सरकारले शिक्षण सिकाइमा भन्दा परीक्षामा मात्रै ध्यान दिएको आरोप लगाए । ‘हामी कहाँ परीक्षा बोर्ड मात्रै भयो, शिकाइ र पढाइ बोर्ड भएन ।’ दाहालले भने, ‘आइसिटी ल्याव बाँडेर मात्रै हुँदैन त्यो सिकाउन शिक्षकलाई तालीम दिनुपर्यो ।’

कार्यक्रममा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, एकोर्यावका अध्यक्ष अर्जुन गिरी, सिजपका अध्यक्ष राजेश शर्मा, शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष सुदर्शन घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

शिक्षक र पत्रकार सम्मानित

 शिक्षा पत्रकार समूहले आफ्नो २२ औं स्थापना दिवस तथा ११ अधिवेशनका अवसरमा शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

समूहले जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल र जनकल्याण मावि काठमाडौंकी प्रधानाध्यापक कुमारी कमला राईलाई सम्मान गरेको हो । यस्तै कान्तिपुर दैनिकका सुदिप कैनीलाई २५ हजार राशीको तीर्थ भुसाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

समूहले हरेक दुईवर्षमा दुईजना उत्कृष्ट काम गर्ने प्रधानाध्यापकलाई सम्मान तथा एकजना शिक्षामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।

pre school