Edusanjal

कर्णाली प्रदेशमा प्राविधिक शिक्षा सिपमूलक कार्यक्रम सञ्चालनको तयारी

प्राविधिक शिक्षा अध्ययन/अध्यापन गराउन कर्णाली प्रदेश सरकार आफैंंले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग सहकार्य गरेर प्रदेशका १० वटै जिल्लामा प्राविधिक धारका सिपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तर सिटिइभिटीले सुर्खेतमा सरकारमार्फत नभई मुख्यमन्त्री महेन्द्रबहादुर शाही सल्लाहकार संयोजक रहेको योगी नरहरिनाथ प्रतिष्ठानमार्फत प्राविधिक शैक्षिक कार्यक्रम अगाडि बढाउने भएको हो ।

कर्णालीमा हरेक वर्ष प्राविधिक शिक्षा अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आफ्ना आंगिक, परिषद्सँगको स्वीकृतिमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम सञ्चालन भएका सामुदायिक विद्यालय र साझेदारी रूपमा सञ्चालनमा रहेका शिक्षालय, पोलिटेक्निक र तालिम केन्द्रमार्फत प्राविधिक धारका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रदेश सरकारले सरकारी स्वामित्व र संरचनामार्फत प्राविधिक शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्री महेन्द्रबहादुर शाही संलग्न रहेको निजी प्रतिष्ठानमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानलाई आयुर्वे्दिक विज्ञान, अटो मोबाइल्स, इन्जिनियरिङ, वन विज्ञान, कृषि, फार्मेसी, नर्सिङ, स्वास्थ्य–सहायकलगायत प्राविधिक धारको पठन–पाठनका लागि सिटिइभिटीले स्वीकृति प्रदान गरेको छ ।

प्रतिष्ठानका सल्लाहकार संयोजक रहेका मुख्यमन्त्री शाहीलाई प्रयोग गरेर प्रतिष्ठानले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, सुर्खेत आयुर्वेद औषधालय, वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश अस्पताल हुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको तोक आदेशमा सिटिइभिटीबाट उल्लिखित कार्यक्रम सञ्चालनका लागि स्वीकृति लिएको हो। 

pre school