Edusanjal

सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालन

पोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग अन्तरक्रिया गरिएको छ ।

प्राविधिक शिक्षा वर्तमानको आवश्यकता भएको वास्तविकतामा सम्बन्धन प्राप्त हुनु उपलब्धिपूर्ण भएको बताउँदै कार्यक्रमका वक्ताले यसको प्रभावकारिता र गुणस्तरीयतालाई विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल इन्जिनीयरिङ एसोसिएशन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले विद्यार्थी तथा अभिभावकलाई गुणस्तरीयताको अनुभूति गराउने गरी विद्यालयले आवश्यक पूर्वाधार तयार गर्नुपर्ने अवश्यकता औँल्याउनुभयो ।

कक्षा सञ्चालनका लागि लागत अनुमानसहित आवश्यक दक्ष शिक्षक, प्रयोगशाला आदिको योजना तयार गर्न उहाँले सुझाव दिनुभयो । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले प्राविधिक शिक्षा वर्तमानको आवश्यकता भएको बताउँदै विद्यार्थी तथा अभिभावकलाई विद्यालयमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने अनुभूति गर्ने वातावरण तयार गर्न सुझाव दिनुभयो ।

पोखरा महानरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले प्राविधिक कक्षा सञ्चालनका लागि सम्बन्धन पाएकामा विद्यालयलाई बधाई तथा शुभकामना दिँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी लाग्न विद्यालयलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले प्राविधिक शिक्षाप्रतिको विद्यार्थी तथा अभिभावकको चासोलाई दृष्टिगत गरी सिटिइभिटीबाट सम्बन्धन लिएको स्पष्ट पार्नुभयो ।

शिक्षा अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालले लामो कक्षा सञ्चालनका लागि भइरहेका तयारीलगायत विषयमा जानकारी गराउनुभयो । प्रधानाध्यापक नन्दलाल काफ्लेले सम्बन्ध प्राप्त भइसकेको कारण आफूहरू कक्षा सञ्चालनको तयारीमा जुटेको र आगामी भदौदेखि कक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।

pre school