
माध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षक मञ्चले आन्दोलनको चेतावनी दिएको छ ।
माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षकहरुको बढुवा तथा वृत्तिविकासमा बाधा पुग्ने कुनै पनि व्यवस्था संशोधित विद्यालय शिक्षा ऐनमा हुन गएमा माध्यमिक तृतीय स्थायी शिक्षक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
सो मञ्चले अहिले विज्ञप्ति जारी गिर्दै ५२ वर्ष पछि नेपाल सरकारले गत भदौ २७ गते संघीय संसद सचिवालय, संसद भवन सिंहदरबार काठमाडौंमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र त्यस विधेयक दर्ता भए पश्चात नेपाल शिक्षक महासंघको आयोजनामा बृहत शिक्षक आन्दोलनको बलमा पटक पटक भएका सहमतिले उक्त अवस्था सिर्जना हुन सक्ने देखिएकाले यस्ते चेतावनी दिएका हुन् ।
सरकार र विभिन्न समूहसँग भएको सहमतिले मुलुकको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अग्रणी भूमिका खेलिरहेका माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षकलाई पेसागत वृत्तिविकासको अवसरबाट वञ्चित गर्ने देखिएको मञ्चको ठहर छ ।
‘साविकको उच्च माध्यमिक तहमा कक्षा ११–१२ मा अध्यापनरत शिक्षकलाई माध्यमिक तह द्वितीय श्रेणी कायम गरी आन्तरिक प्रतिस्पर्धा गराउँदा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत बाह्र हजार भन्दा बढी स्थायी शिक्षक मौजुदा ऐन नियम बमोजिम माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनबाट पूर्णरुपमा वञ्चित हुने देखिएको छ।’ विज्ञप्तिमा भनिएको छ।




