SEE Result 2082

करिब २७ प्रतिशत क्याम्पस अनुदान आयोगबाट क्युएए लिने प्रक्रियामा, ५३ ओटालाई क्युएए प्रदान

विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) को प्रक्रियामा हालसम्म ३८४ उच्च शिक्षा प्रदायक शैक्षिक संस्था पुगेको जनाएको छ । कुल क्याम्पसको २६.७५ प्रतिशत प्रक्रियामा पुगेपनि हालसम्म आयोगले ५३ वटा क्यामपसलाई मात्र क्युएए प्रदान गरेको छ ।

देशभर सञ्चालनमा आएका सबै विश्वविद्यालयका आङ्गीक क्याम्पस १५२, सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस ५३६ र निजी क्याम्पस ७४९ गरी जम्मा क्याम्पसको संख्या १ हजार ४३७  ओटा छ । त्यस मध्ये क्युएए  प्रक्रियामा पुगेका  क्याम्पस भने २६.७५ प्रतिशत मात्र छन् ।

गत आर्थिक बर्षमा ४ वटा उच्च शैक्षिक संस्थाहरुले क्युएएको प्रमाणपत्र प्राप्त गर्न सफल भएको आयोगले आज सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२८ औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा गत आर्थिक वर्षमा १८ वटा शैक्षिक संस्थाहरुको क्युएए साइकल पुरा भएको, वटा संस्थामा पीआरटी भ्रमण भएको, २० वटा संस्थाको यसयसआर स्वीकृत भएको, २० वटा संस्थाका लागि पीआरटी गठन भएको र २६ वटा संस्थाहरुको एलओआई स्वीकृत भएको उल्लेख गरिएको छ ।

हालसम्म १६७ उच्च शैक्षिक संस्थाहरुले स्व–अध्ययन प्रतिवेदन पेश गरिसकेका छन् भने, ७५ ओटाको समकक्षी परीक्षणको पूर्ण भ्रमण सम्पन्न भैसकेको छ । त्यसैगरी समकक्षी परीक्षणको पूर्ण भ्रमण सम्पन्न भएका मध्ये ५३ वटा उच्च शैक्षिक संस्थाहरु प्रत्यायनकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

त्रिविमा सबैभन्दा बढी विद्यार्थी

अयोगले सार्वजनिक गरेको तथ्‍याङ्क अनुसार सबैभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहेका छन् । गतवर्ष ४ लाख ६६ हजार ८२८ रहेकोमा सबैभन्दा बढी ३ लाख ५६ हजार ६५४ जना विद्यार्थी त्रिविमा अध्ययनरत छन् । त्यस्तै  सबैभन्दा कम विद्यार्थी भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी देखिएका छन् । प्रतिष्ठानमा जम्मा ५९ जना विद्यार्थी मात्रै अध्ययरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सामुदायिक र निजी क्याम्पसहरुको विद्यार्थी हिस्सा २८.५२ प्रतिशत र ३५.६८ प्रतिशत रहेका छन् भने क्याम्पसको हिस्सा क्रमश ३७.३ र ५२.१२ प्रतिशत रहेको आयोगले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal