SEE Result 2082

विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्यो

स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले रू ४० लाख १८ हजार प्रदान गरेका छन् ।

अक्षयकोष स्थापनार्थ सुरु गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ ।

सबैभन्दा बढी दोर्दी–८ बन्सारका खर्ब तामाङले रू तीन लाख प्रदान गरेका विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिए । “स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको हो”, उनले भने, “हालसम्म दुई सय ५० भन्दा बढी यस अभियानमा जोडिनुभएको छ ।”

अक्षयकोषको रकम वृद्धिका लागि स्वर्ण महोत्सवपछि पनि आर्थिक अभियान निरन्तर सञ्चालन हुने प्रधानाध्यापक घिमिरले जानकारी दिए । उक्त अक्षयकोषलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने जनाइएको छ ।

बिहीबारदेखि सुरु भएको स्वर्ण महोत्सव आज सकिने विद्यालयले जनाएको छ । विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायत योजना अगाडि बढाएको छ । गुरुङ समुदायको बाहुल्य रहेको दोर्दीको ढोडेनी, फलेनी र बन्सार क्षेत्रका विद्यार्थी सो विद्यालयमा अध्ययन गर्छन् ।

दोर्दीका जनप्रतिनिधि र स्थानीवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल लिएकाले अहिले सुविधासम्पन्न भवनबाट विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताउनुभयो । उहाँका अनुसार हाल विद्यालयमा दुई सय बढी विद्यार्थी अध्ययनरत छन् ।

+2 School
Counseling
Bachelors Portal