SEE Result 2082

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ । विश्वविद्यालयका लागि खाँदबारी–९ ढुङ्गे बिसौनामा ४८ दशमलव ६७ रोपनी जग्गा रजिष्ट्रेशन पास भएको हो ।

योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा सो जग्गा रजिष्ट्रेशन पास भएको विश्वविद्यालय पूर्वाधार समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए ।

खाँदबारी–९ ढुङ्गे बिसौनाका स्थानीयवासी मानबहादुर तामाङले १९ दशमलव ९२ रोपनी, तिलकबहादु तामाङले चार दशमलव ४८ रोपनी, ग्यामबहादुर सुब्बाले चार रोपनी, धनमाया श्रेष्ठले दुई दशमलव ०२ रोपनी, केशरबहादुर श्रेष्ठले एक दशमलव ५४ रोपनी र सफलमाया श्रेष्ठको १६ दशमलव ७१ रोपनी जग्गा योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा रजिष्ट्रेशन पास गरिदिएको राईले बताए ।

जग्गा खरिद गर्न सरकारले योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा रु सात करोड विनियोजन गरिसकेको छ । प्रतिनिधिसभाको यही साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । खाँदबारी–९ तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालयसमेत स्थापना भइसकेको छ । अरुण उपत्यकामा विश्वविद्यालय स्थापना हुने भएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।

आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको तीन सय ७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकाको दुई सय ३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ ।

विसं १९२४ मा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गर्नुभएको थियो । उहाँलाई प्रथम विद्रोही नारीका रूपमा पनि चिनिन्छ ।  वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय सञ्चालन गर्ने अभियानकर्मी बताउँछन् ।

+2 School
Counseling
Bachelors Portal