SEE Result 2082

चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण

काठमाडौँ, १० भदौ (रासस): यस वर्ष चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।

“आज हामी यहाँ बसेर सन् २०१९ मा चीनमा अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीहरूलाई बिदा गर्दैछौँ”, यस वर्ष चीन सरकारको छात्रवृत्ति पाएर चीन जान लागेका नेपाली विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौले भन्नुभयो, “चीन सरकारको छात्रवृत्ति पाएका विद्यार्थीहरूले छात्रवृत्तिको सही उपयोग गरेर नेपाल–चीन सम्बन्धलाई थप गौरवमय बनाउनुहुनेछ, चीनमा पाएको शिक्षालाई स्वदेश फर्केर राष्ट्रिय निर्माण र चीन–नेपाल मैत्रीपूर्ण सम्बन्धको विकास गर्नेमा म विश्वस्त छु ।”

सो अवसरमा नेपालका लागि चिनियाँ दूतावासका तर्फबाट उहाँले छात्रवृत्तिमा चीन जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई हार्दिक बधाई व्यक्त गर्नुभएको थियो । उहाँले चीनमा रहँदा मूल्यवान् अवसरको सदुपयोग गरी विभिन्न प्रविधि सिक्न सकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “चीनको रमणीय दृश्य, कला र संस्कृति र विशेषगरी चिनियाँ जनताको मिलनसार स्वभावको अनुभव गर्न सक्नुहुनेछ ।”

उक्त अवसरमा शिक्षा सचिव महेश दाहालले नेपाल र चीनबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै इञ्जिनीयरिङ, विज्ञान, चिकित्सा, भाषा तथा साहित्य क्षेत्र लगायतमा पाएका छात्रवृत्तिलाई सही सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको थियो ।

आजै भएको एक अर्को कार्यक्रममा ‘चाइना फोन्डेशन फर पोभर्टी एलिभेशन नेपाल’ नामक गैरसरकारी संस्थाले काठमाडौँको बालमन्दिरमा अध्ययनरत ३३३ अनाथ तथा बहिरा विद्यार्थीको सहयोगका लागि झोला तथा पाठ्यसामग्री वितरण गरेको थियो ।

विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा संस्थाका उपनिर्देशक वाङ चुनले आफू कार्यरत उक्त संस्थाले नेपालका विभिन्न स्थानमा पुगेर चिनियाँ सहयोग कार्यहरूलाई तल्लोस्तरसम्म पु¥याउने गरेको बताउनुभयो ।

+2 School
Counseling
Bachelors Portal