SEE Result 2082

प्रविधिको प्रयोग गरी ८० प्रतिशतलाई शिक्षा दिन सकिने : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मोबाइल फोनको प्रयोगसहित ८० प्रतिशत विद्यार्थीलाई सूचना प्रविधिमार्फत शिक्षा दिन सकिने बताएका छन् ।

प्रविधिमैत्री शिक्षक समाज नेपालले सञ्चालन गरेको अनलाइन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अनलाइन, भर्च्युअल, एफएम रेडियोका साथै मोबाइल फोनको प्रयोग गर्दा ८० प्रतिशत विद्यार्थीलाई शिक्षा दिन सकिने अवस्था रहेको उल्लेख गर्दै भने, "बाँकी २० प्रतिशतलाई कसरी शिक्षाको पहुँच पुर्याउने भन्ने मुख्य विषय हो । अर्कोतर्फ प्रविधिको प्रयोगबाट कतै विभेद त सिर्जना हुँदैन भन्ने पनि छ ।"

उनले बन्दाबन्दीको अवस्था सकिएपछि सबैभन्दा अन्तिममा विद्यालय नै खुल्ने स्पष्ट पार्दै बन्दाबन्दी कहिले सकिन्छ भनेर अहिले नै भन्न नसकिने बताए । "बन्दाबन्दीमा पनि विद्यार्थीलाई शिक्षासँग जोड्न विकल्प खोज्नुपर्दछ । फेस टु फेसको विकल्प अरु हुन सक्दैन । तैपनि यस्तो परिस्थितिमा विकल्प खोज्नुपर्ने हुनसक्दछ" उनले भने ।

उनले शिक्षक तयार नहुँदासम्म प्रविधिमैत्री विद्यालय सम्भव नहुने तर्क गर्दै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा शिक्षा मन्त्रालय पनि योजना बनाउन क्रियाशील रहेको उल्लेख गरे ।

सोही कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी १० वर्षभित्र झोला र किताब विस्थापित गर्ने योजना बनाइएको बताए । उनले बन्दाबन्दीमा शिक्षकहरुले प्रविधिमार्फत थालेको पठनपाठनको क्रियाशीलतालाई देख्दा आगामी दुई तीन वर्षभित्र प्रदेश १ मा झोला र किताब विस्थापित गर्न सकिन्छ कि भन्ने अनुभूति भइरहेको बताए ।

उनले सो प्रदेशमा छ सय जना शिक्षकले अनलाइनबाट तालिम लिइरहेको चर्चा गर्दै एक सय विद्यालयलार्य प्रविधिमन्त्री बनाउन लागेको जानकारी दिए ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले १६ करोड रुपियाँको लगानीमा प्रविधिमार्फत शिक्षण गर्ने कार्यको थालनी गरिन लागिएको बताउँदै प्रदेशका ८९ वटै स्थानीय तहमा एउटा एउटा नमूना विद्यालय तयार गर्न लागिएको जानकारी दिए । उनले प्रवेशिका परीक्षा (एसईई)लाई विद्यालयस्तरमै सीमित गरेर त्यसमा गरिँदै आएको लगानीलाई प्रविधि सुधारमा खर्च गर्न सल्लाह दिए ।

मन्त्री रावलले शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकहरुलाई पूर्वसेवाकालीन तालिम प्रदान गर्ने र त्यस्तो तालिममा एउटा विषय प्रविधिसम्बन्धी हुने योजना पनि सुनाए । 

+2 School
Counseling
Bachelors Portal