SEE Result 2082

शिक्षामा कुल बजेटको २० प्रतिशत छुट्याउने–नेकपा एस (घोषणापत्रको पूर्णपाठ सहित)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्ने पुरानो नेकपा एकालेको प्रतिवद्धता पुनः दोहोर्याएको छ ।

संविधान प्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न सबै तहमा कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने  एकीकृत समाजवादीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क

प्रदेश तथा स्थानीय सरकारहरू साधनस्रोत सम्पन्न नहुञ्जेलका लागि माध्यमिक शिक्षासम्म सङ्घीय सरकारबाट लगानी गर्ने कार्यमा जोड दिइने, माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने र शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनुनपर्ने अवस्था सृजना गर्न पहल गरिने घोषणा पत्रमा उल्लेख गरेको छ ।

समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक  गर्दै ‘सामुदायिक वा सरकारी विद्यालयको शिक्षाको स्तर आमरूपमा खस्किएको छ । त्यसैले सामुदायिक (सरकारी) विद्यालयको पठन–पाठनको स्तर सुधारका लागि प्रतिवद्धता व्यक्त गर्दछौँ’ भनेको छ ।

उच्चस्तरीय आयोग गठन गर्ने

विद्यालय शिक्षाको पुनरावलोकन गर्नका लागि उच्चस्तरीय आयोग गठन गरी तुरुन्तै राष्ट्रिय आवश्यकता अनुरूपको नीति तर्जुमा गरी कार्यान्वयन गर्ने र आधारभूत शिक्षापछि व्यावसायिक र रोजगारीमूलक तालिमलाई सहज गराउन, शिक्षार्थीलाई त्यसतर्फ प्रेरित गर्ने र पाठ्यक्रममा देशको भूगोल, इतिहास र सामाजिक–सांस्कृतिक सद्भाव र गौरवगाथालाई प्राथमिकताका साथ समावेश गर्न दृढ प्रयत्न गरिने छ ।

तीन खम्बे शैक्षिक नीति

संविधानले समाजवाद उन्मुख आर्थिक नीति अवलम्बन गरेको छ । यस व्यवस्थाअनुसार नै शैक्षिक क्षेत्रमा पनि सरकारी, सहकारी र निजी लगानीका शैक्षिक संस्थाहरू सञ्चालन हुन सक्छन् तर सरकारी क्षेत्रले नेतृत्वदायी भूमिका पूरा गर्नुपर्दछ भन्ने मान्यता नै समाजवादी मान्यता भएको घोषणा पत्रमा उल्लेख छ ।

पढाइ स्तर सुधार

सामुदायिक विद्यालयको पढाइको स्तर निजी स्कुलको भन्दा राम्रो बनाउन पहल गरिने  उल्लेख गरेको छ ।

गैरप्राविधिक विषयमा ३० प्रतिशत र व्यावसायिक तथा प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति उत्पादन गर्ने गरी शिक्षा नीति परिवर्तन गर्न पहल गरिने  उल्लेख गरेको छ ।

विज्ञ उत्पादनमा जोड

माध्यमिक तहसम्मको शिक्षालाई कुनै पनि तहको सुरु सरकारी सेवाका लागि र उच्च शिक्षालाई राष्ट्रिय आवश्यकता पूरा गर्ने प्रतिभावान् र क्षमतावान् श्रमशक्ति निर्माण गर्न सञ्चालन गर्ने र राष्ट्रलाई आवश्यक पर्ने चिकित्सक, इञ्जिनियर, कृषि विज्ञ, अर्थशास्त्री, सूचना तथा प्रविधि विज्ञ, व्यवस्थापक, समाजशात्री, भूगोल, ईतिहास, भाषा साहित्य तथा संस्कृती विज्ञलगायत दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिइने  भनेको छ ।

पूर्वाधार सम्पन्न विद्यालय

सामुदायिक विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेल मैदान र खेदकुद सामग्री, सरसफाइ आदिको उचित प्रबन्ध गर्न पहल गरिने  घोषणा पत्रमा उल्लेख गरेको छ ।

दश जोड दुई उत्तीर्ण गरेको विद्यार्थी स्वरोजगार हुने

विद्यार्थीहरूले उच्च माध्यमिक तहको शैक्षिकस्तर पूरा गरेपछि मध्यम स्तरको दक्ष नागरिक बन्ने र दश जोड दुई उत्तीर्ण गरेको विद्यार्थी स्वरोजगार हुनसक्ने गरी पाठ् यक्रममा सुधार गर्नका लागि आवश्यक पहल गरिने  उल्लेख गरेको छ ।

दक्ष प्राविधिक

सिपमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिने छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक जिल्ला, एक बहु प्राविधिक शिक्षालय’, ‘एक पालिका, एक प्राविधिक विषय’ को अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइने छ ।

विश्वविद्यालयहरूको पुनःसंरचना

विश्वविद्यालयहरूको पुनःसंरचना गर्नका लागि उच्च स्तरीय आयोग गठन गरी विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी बनाउन विशेष जोड दिइने  उल्लेख गरेको छ ।

विश्वविद्यालयहरूलाई ज्ञान उत्पादन गर्ने थलोका रूपमा विकास गर्दै तिनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पहल गरिने उल्लेख गरेको छ । उद्योगहरूसँगको सहकार्य, नवप्रवर्तन तथा वैज्ञानिक अनुसन्धानको क्षमतालाई प्राध्यापकहरूको पदोन्नतिको आधार बनाइने घोषणा गरेको छ ।

उच्च शिक्षामा अध्ययन, अनुसन्धानमार्फत विज्ञता र विशेषज्ञताको विकास गर्न विशेष ध्यान दिइने भनेको छ ।

योगमाया आयुर्वेदिक विश्वविद्यालय सातै प्रदेशमा

योगमाया आयुर्वेदिक विश्वविद्यालयको कार्यक्षेत्र सातै प्रदेशमा विस्तार गर्ने र प्राविधिक जनशक्ति उत्पादनका लागि अध्ययन अध्यापनका काम अगाडि बढाइने उल्लेख गरेको छ  ।

सहकारी अभियानलाई शैक्षिक क्षेत्रमा

कानुनमा सुधार गरेर सहकारी अभियानलाई शैक्षिक क्षेत्रमा आकर्षित गर्ने, सहकारीमा रूपान्तरण हुन चाहने निजी लगानीका विद्यालयलाई विशेष सुविधा दिने नीति बनाउन जोड दिइने  उल्लेख छ ।

‘सिक्दै र कमाउदै’ गर्ने प्रणालीको विकास

कृषि र पशु विज्ञान, इन्जिनियरिङ, सूचना तथा प्रविधि लगायतका विषयहरूमा विद्यार्थीले ‘सिक्दै र कमाउदै’ गर्ने प्रणालीको विकास गरिने  उल्लेख छ ।

राष्ट्रलाई आवश्यक पर्ने जनशक्तिको अध्ययन गरी सोही अनुरूप जनशक्ति उत्पादन गर्न उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने उल्लेख गरेको छ ।

अध्ययन अनुसन्धानका लागि प्रोत्साहन

हरेक क्षेत्रका प्रतिभवान विद्यार्थीहरूलाई अध्ययन अनुसन्धानका लागि प्रोत्साहन गर्दै पुरस्कृत समेत गर्न पहल गरिने उल्लेख गरेको छ ।

त्यसैगरी, शिक्षालाई उत्पादन, श्रम एवं स्थानीय अर्थतन्त्र र स्थानीय रोजगारी वृद्धिसँग आबद्ध गर्ने, किशोरी जनचेतना कार्यक्रम, सशक्तीकरणका कार्यक्रम र सेनीटरी प्याड निःशुल्क वितरण गर्ने, गुरुकुल, विहार, गुम्बा, मदरसा, खुला एवं वैकल्पिक शिक्षा कार्यक्रमलाई राष्ट्रिय शिक्षा प्रणालीसँग आबद्ध गर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष शिक्षाको व्यवस्था गर्ने, दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरूका निम्ति आवासीय विद्यालयको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

कक्षा ३ सम्म मातृभाषा

प्रारम्भिक बालशिक्षादेखि कक्षा ३ सम्म मातृभाषामा अध्ययन–अध्यापन गराउन आवश्यक प्रबन्ध गर्ने आदि कार्यमा जोड दिइने  उल्लेख गरेको छ ।

दुईखाले शिक्षा प्रणालीमा रहेको विभेद हटाउने

राज्यले सार्वजनिक शिक्षामा लगानी तथा क्षमता वृद्धि गर्ने । निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई नियमन गर्दै दुईखाले शिक्षा प्रणालीमा रहेको विभेद क्रमशः हटाउने तथा संविधानले प्रत्याभूत गरेको अधारभूत शिक्षालाई पूर्ण निःशुल्क गरिने उल्लेख गरेको छ ।

बालबालिकालाई शान्तिक्षेत्र

शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त गराउन तथा विद्यालय एवं बालबालिकालाई शान्तिक्षेत्रका रूपमा स्थापित गर्न विशेष जोड दिइने  उल्लेख गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को घोषणापत्र

+2 School
Counseling
Bachelors Portal