SEE Result 2082

नक्कली प्रमाणपत्रका भरमा करार शिक्षकमा नियुक्त

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज पाँचथरको तुम्वेबा गाउँपालिका ४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि अनुसन्धान हुँदा उनको प्रमाणपत्र नक्कली भेटिएपछि अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नक्कली प्रमाणपत्र पेश गरी नियुक्तिसमेत लिई आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि हुन आएको देखिंदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ (१) बमोजिम समेतको सजाय हुने मागदावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal