SEE Result 2082

विद्यार्थी नपाएपछि अष्ट्रेलियाका विश्वविद्यालय संकटमा

कोभिड–१९ को कारण विदेशी विद्यार्थीलाई प्रवेश खुला नगरेकाले अष्ट्रेलियाका कम्तीमा १० विश्वविद्यालयले विद्यार्थी अभावको समस्या झेल्नुपरेको छ ।

अष्ट्रेलियामा ४३ वटा विश्वविद्यालय छन् । विद्यार्थी अभावको समस्या झेल्नुपरेका विश्वविद्यालय सबै सहरी क्षेत्रका हुन् ।

अष्ट्रेलियामा रहेका सञ्चार अनुसन्धानकर्ता डा. भरतराज पौडेलले भने, “कोभिड–१९ को समस्याले विदेशी विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाउँदा नेपाली विद्यार्थी अमेरिका, क्यानडा, बेलायत लगायतका मुलुकतर्फ आकर्षित हुन थालेका छन् ।”

उनका अनुसार युनिभर्सिटी अफ क्विन्सल्याण्ड, अष्ट्रेलियन नेसनल युनिभर्सिटी, क्विन्स्ल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी, मोनास युनिभर्सिटी, मेलबर्न युनिभर्सिटी, सिडनी युनिभर्सिटी, वेस्टर्न सिडनी युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्नोलोजी सिडनी लगायतका विश्वविद्यालयमा विद्यार्थी अभाव देखिएको छ । ती विश्वविद्यालयमा नेपाली बाहेक चीन, भियतनाम, श्रीलङ्का, ब्राजिल, भारत लगायतका मुलुकका विद्यार्थीहरु पनि अध्ययनरत छन् ।

ती विश्वविद्यालयहरुमा करिव २० हजार नेपाली विद्यार्थीहरु अहिले पनि अध्ययनरत छन् । “विद्यार्थी अभाव भएका कारण अष्ट्रेलियाका विश्वविद्यालयहरुमा पहिलेदेखि नै यही रहेका नेपाली विद्यार्थीहरुले पुनः भर्ना गरेर प्रवेशाज्ञा धानिरहेका छन्” उनले थपे, “यस्ता नेपाली विद्यार्थीहरु करिव नौ हजार छन् ।”

विद्यार्थी अभाव भएपछि अष्ट्रेलियाका सबै विश्वविद्यालयले आफ्ना कर्मचारी तथा शिक्षक कटौती गरेका छन् । डा. पौडेलले हरेक विश्वविद्यालयले कम्तीमा २५० जना कर्मचारी तथा शिक्षक कटौती गरेको दावी गरे ।

नेपालका विद्यार्थीहरु प्रायः स्नातक तह अध्ययनका लागि अष्ट्रेलिया पुग्ने गर्दछन् भने चीन तथा भारतीय विद्यार्थीहरु स्नातकोत्तर, विद्यावारिधि तथा अनुसन्धान तहका लागि त्यहाँ जाने गरेका छन् । नेपाली विद्यार्थीले बर्सेनि सरदर २० लाख रुपियाँ अध्ययनका लागि खर्च गर्ने गरेका छन् । नेपाली विद्यार्थीले वाणिज्य, नर्सिङ्, हस्पिटालिटी लगायतका विषय अध्ययन गर्ने गरेका छन् । अनुसन्धानकर्ता डा. पौडेलले अष्ट्रेलियामा करिव ६० हजार नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेकाे बताए ।

अष्ट्रेलियामा आप्रवासीका लागि करिव डेढ लाख विदेशीले निवेदन दिएका छन् । मुद्दा छिटो छिनोफानो गरिदियोस् भनेर उनीहरुले यससम्बन्धी निकाय एएटी र अदालत कुरेर बसिरहेका छन् ।

+2 School
Counseling
Bachelors Portal