SEE Result 2082

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले  तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए ।

 जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।  विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको  हो ।

 “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रधानाध्यापक  पराजुलीले भने , “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए ।

“विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उनले भने , “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो ।

प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन्  ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गरेको हो । विद्यालयले सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान सँगसँगै अगाडि बढाएको हो ।

+2 School
Counseling
Bachelors Portal