SEE Result 2082

समाजसेवी मल्ल दम्पतीले तेत्तीस लाखको अक्षयकोष स्थापना

तनहुँ, १५ असार (रासस) : तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उहाँकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । 

गरीब तथा विपन्न वर्गका बालबालिकालाई पठनपाठनतर्फ अभिप्रेरित गर्ने र भक्तजनलाई मन्दिरको उचित संरक्षण गर्ने उद्देश्यले समाजसेवी मल्ल दम्पतीले ती सङ्घसंस्थामा अक्षयकोष स्थापना गरिदिनुभएको हो ।

ती विद्यालय र मठमन्दिरमा ईश्वर र नीलकुमारी अक्षयकोष स्थापना गरिएको हो । 

आफ्ना मातापिताले रु दुई लाखदेखि पाँच लाखसम्मको अक्षयकोष स्थापना गरेको छोरा विपीन मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोरखाको लखन गाउँपालिका–३ स्थित मनकामना माध्यमिक विद्यालयमा रु पाँच लाख, तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा रु पाँच लाख, गोरखाको पालुङटार नगरपालिका–८ स्थित अकला माध्यमिक विद्यालयमा रु पाँच लाख, गोरखाकै शहीद लखन गाउँपालिका–१ को बक्रेश्वर माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

यस्तै गोरखाको शहीद लखन गाउँपालिका–३ को गङ्गाधर्म प्राथमिक विद्यालयमा रु दुई लाख, गोरखा नगरपालिका–१३ को मल्ल कुलायन मन्दिर निर्माणलाई रु पाँच लाख, गोरखाको बक्रेश्वर महादेव मन्दिरलाई रु दुई लाख, तनहुँको आँबुखैरेनीमा रहेको कृष्ण मन्दिरलाई रु दुई लाख, गोरखा कुरिनटारको त्रिवेणी माई मन्दिरमा रु दुई लाखको अक्षयकोष स्थापना गरिएको छोरा विपीनले बताउनुभयो ।

तनहुँको आँबुखैरेनीमा सम्पन्न रामयुग मल्ल प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाका अवसरमा समाजसेवी मल्लले विद्यालय तथा मठमन्दिरको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिएको समाजसेवी भगवान् मल्लले बताउनुभयो ।

+2 School
Counseling
Bachelors Portal