SEE Result 2082

भर्नामा अनियमतिा भएको भन्दै केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी, विद्यार्थीको चर्को दवादपछि शुल्क फिर्ता

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा स्नातक तहको खाद्य प्रविधि (बीटेक खाद्य टेक्नोलोजी) विषयको प्रथमवर्षको भर्ना प्रक्रिया अनियमित भएको भन्दै विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

कोभिड १९ को महामारीका विच विद्यार्थीको पहुँच पुग्न नसक्ने अवस्थामा कलेजले बाह्य सूचना प्रकाशन नै नगरी कलेजको सूचना पाटीमा मात्र सूचना टासेर सो विषयको प्रथम वर्षमा भर्ना लिएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

फोटोः विपिन आचार्य

विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संघ, संगठन र स्वतन्त्र विदार्थीहरुले तीन दिन अगावै सामूहिक विज्ञप्ति जारी गरी अनलाइन तथा पत्रपत्रिका मार्फत सार्वजनिक सूचना जारी गरेर मात्र भर्ना लिन कलेजलाई आग्रह गर्दा कलेज प्रशासनले सुनुवाइ नगरेपछि बाध्य भएर आफूहरुले कलेजमा तालाबन्दी गरेको नेपाल फुड टेक्नोलोजी स्टुडेन्टस् एसोसिएसनका सभापति विपिन अर्यालले जानकारी दिए । ‘अनियमित तरिकाले गरिएको भर्ना प्रक्रिया रोक्न कलेजलाई पटकपटक अनुरोध गर्यौ, सार्वजनिक रुपमा सबै विद्यार्थीले प्रशासनलाई अपिल गर्यौ तर कलेजले सुनुवाइ गरेन ।’ सभापति अर्यालले भने, ‘कलेजले सबै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्दै सार्वजनिक सूचना नै जारी नगरी भर्ना लिन थालेपछि हामीले विरोध गर्यौ सुनेन बाध्य भएर प्रशासन र कुल गेटमा हिजो ताला लगायौं, अहिलेसम्म प्रशासनले बार्तामा हामीलाई बोलाएको छैन ।’

सोही विषयमा कलेजले भर्ना शूल्क ४ हजार १० रुपियाँबाट बढाएर ५ हजार १० रुपियाँ लिन थालेपछि विद्यार्थीले सामुहिक रुपमा आन्दोलन गरी बढेको शुल्क फिर्ता गराएको सभापति अर्यालले जानकारी दिए । महामारीको विषम परिस्थितिमा अभिभावक तथा विद्यार्थीलाई मार पार्ने गरी शुल्क वृद्धि गर्नु हुँदैन भनेर लामो समय संघर्ष गरेपछि कलेजले बढेको भर्ना शुल्क फिर्ता लिएको उनले जानकारी दिए ।

सो कलेजमा स्नातक तहमा खाद्य टेक्नोलोजी पोषण र आहार, माइक्रोबायोलजी विज्ञान, भौतिक विज्ञान, भूविज्ञान, सूचना प्रविधि, स्नतकोत्तर तह तर्फ माइक्रोबायोलजी र एमटेक फूड टेक्नोलोजी विषयमा पठनपाठन हुँदै आएको छ । निश्चित कोटाका आधारमा अहिले सो कलेजमा करिब ६०० विद्यार्थी अध्ययनरत छन् ।

+2 School
Counseling
Bachelors Portal