SEE Result 2082

बुबाआमाको सम्बन्धविच्छेदका कारण स्कुल छाडेर श्रम गर्दै बालबालिका

पछिल्लो समय बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्याएको छ । अभिभावकमा हुने खटपटका कारण बालबालिको चैतर्फी विकासमा समेत असर परेको छ ।   जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार एक महिनामा औसतमा १५–१६ जनाले सम्बन्धविच्छेद गर्ने गरेका छन् । सम्बन्धविच्छेदका कारण बालबालिका  विद्यालय जान छाड्ने गरेको पाइएको छ ।

जिल्ला अदालत भोजपुरका स्रेस्तेदार नवराज कार्कीका अनुसार   बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने गरेको छ ।

साल्पासिलिछो गाउँपालिकाका १४ वर्षीय बालक अहिले विद्यालय जान छोर सडक निर्माणको काम गर्छन् ।  उनी बाबुआमाको सम्बन्धविच्छेद हुनु अगाडि स्थान्ीय विद्यालयमा पढ्थे तर सम्बन्धविच्छेदपछि उनी विद्यालय जानै छाडे । ‘म अहिले विद्यालय जान छोडेर सडकमा ढुङ्गा बोक्ने गिटी कुट्ने काम गरिरहेको छु । बुबाआमा छुट्टै बस्नुहुन्छ । कानुनी रुपमा बाबुआमा अलग भएपछि बुबाले अर्की आमा ल्याए ।’ उनले भने, ‘त्यसपछि अरु दुई जना भाइबहिनीलाई  पनि घरबाट निकालिएपछि उनीहरुलाई पनि मैले नै  पालिरहेको छु ।’

टेम्केमैयुङ गाउँपालिका–५ का १७ वर्षीय अर्का बालक खेतबारीमा बारी, जोत्ने। खन्ने ाकम गर्छन् ।। उनको काँधमा पनि घरपरिवार धान्ने जिम्मेवारी छ । उनी अहिले विद्यालय छाडेर श्रम गरिरहेका छन् । बुबा विदेशमा भएको कारण बाध्य भएर काम गर्नुपरेको उनले बताए । उनले भने, ‘पढ्न मन छ तर घरको अवस्था कमजोर छ । बुबा विदेश जानु भएपछि सम्पर्कमा हुनुहुन्न । मलेसियामा विवाह गरेर बस्नुभएको छ भन्ने खबर छ । आमा पनि धेरै वर्षअघिदेखि बिरामी हुनुहुन्छ । परिवारको जीवनयापनको लागि काम गर्नु पर्छ ।’

भोजपुरको टेम्मैयुङ गाउँपालिकामा रहेको अन्नपूर्ण बागधन रणदिपाराई माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर राईका अनुसार कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ६० प्रतिशत विद्यार्थी मात्र कक्षा १० मा पुग्ने गरेका छन् । विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुने गरेको छ । प्रधानाध्यापक राईले भने, ‘अधिकांश विद्यार्थीले बीचमै पढाई छाड्नुको मुख्य कारण उनीहरुको घरायसी अवस्था नै हो । यहाँका धेरै बालबालिका बालश्रम गरिरहेका नै हुन्छन् ।’

विद्यालयमा भर्ना भएका जेहेन्दार विद्यार्थीले पनि कक्षा छाड्दा विद्यालयको शैक्षिकस्तरमा सुधार ल्याउन कठिन भएको उनको भनाइ छ ।

त्यस्तै बालविवाहका कारण पनि कतिपय छात्राले विद्यालय छाडेको प्रधानाध्यापक राईले बताए । विवाह गरेर श्रीमानको घरमा गएपछि बुहारीलाई पढाउनुपर्छ भन्ने मान्यता नहुँदा चाहेर पनि त्यस्ता छात्राहरुले पढाइलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । खास गरेर विद्यालय छाडेर श्रम गर्नेमा दलित तथा विपन्न परिवारका बालबालिकाको सङ्ख्या धेरै रहेको विद्यालयले जनाएको छ ।

सोही विद्यालय छाडेका १३ वर्षीय शिशिर परियारले परिवारमा आर्थिक समस्या भएका कारण विद्यालय छाडेर काम गर्न थालेको बताए । उनले भने, “परिवारको आर्थिक अवस्था कमजोर छ । छाक टार्न नै समस्या हुन्छ । मैले बाहिर सकेको काम गरेर केही भए पनि परिवारको आर्थिक भार धानेको छु । म जस्ता अरु साथीहरु पनि छन् । हामी आवश्यकताअनुसार सडक, लकडी तथा गाउँमा खेतला जान्छौँ ।’

 पढ्ने मन हुँदाहुँदै पनि पारिवारिक अवस्थाले श्रममा जानु परेको उनले दुखेसो व्यक्त गरे । केही वर्षअघिसम्म त मिलाएर काम गरेर स्कुल जाँदै थिए । उनी भन्छन्, ‘बिदाको दिन काम गरेको भरमा साताभरि खान नपुगेपछि अहिले विद्यालय छाडेर काममा जान थालेको छु ।’

यसरी काम गर्दा उनीहरुले दैनिक रु २५० देखि ४०० सम्म पाउँछन् । त्यही काम पनि नियमित हुन्न । परिवारमा अभिभावकबीच झगडा, बेमेल हुनु, कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई भन्दा कामलाई महत्व दिनुपर्दा विद्यालय जाने गरेका कतिपय बालबालिकाको पढाइको स्तरमा   कमजोर रहने गरेको छ ।

परीक्षामा निरन्तर पास हुन नसक्नु, विद्यालय तथा सहपाठी साथीबाट हुने दुव्र्यवहारका कारण पनि विद्यालय छाडेर बालश्रममा लागेका उदाहरण पनि प्रशस्त छन् । अध्ययनसँगै विद्यालयमा हुने विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा आफू सक्षम रहेको देखाउन नसक्दा पनि उनीहरुमा विद्यालयप्रतिको आकर्षण घटेर गएको देखिन्छ । अरुण गाउँपालिकाका एक बालकले समयमा गृहकार्य बुझाउन नसक्दा शिक्षकबाट समेत दुव्र्यवहार भएपछि पढाइ नै छाड्नु परेको गुनासो गरे । चौध वर्षका ती बालकले गत वर्षबाट विद्यालय जान छाडेको बताए । उनले भने, ‘मैले कक्षा ९ बाट विद्यालय जान छाडें । त्यही कक्षामा दुई वर्ष पढ्दा पनि उत्तीर्ण हुन सकिन । धेरै पटक अनुत्तीर्ण भएपछि साथीहरुले जिस्काउन थाले । शिक्षकले पनि हतोत्साही गरेपछि स्कुल जान मन लागेन ।’

टेम्केमैयुङ गाउँपालिका–९ सिंहदेवी माध्यमिक विद्यालयका शिक्षक राजधन राईले विद्यार्थीहरु पटकपटक अनुत्तीर्ण हुँदा पनि विद्यालय छाड्ने गरेको बताए । उनी भन्छन्, ‘विद्यालय छाड्ने मुख्य कारण एउटै कक्षामा पटकपटक फेल हुनु पनि हो । आर्थिक हिसाबले केही सम्पन्न परिवारका बालबालिकामा पनि सामाजिक सञ्जाल तथा बढ्दो प्रविधिको कारण सिकाइ अवस्था खस्किएको छ । उनीहरुको बढी ध्यान मोवाइल, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा जाने हुनाले पनि फेल हुने गरेका छन् । यसले विद्यार्थीहरुमा विद्यालय छाड्ने लहर बढेको छ । विद्यार्थीमा मिहेनत गरेर अध्ययन गर्ने बानीको विकास घट्दै गइरहेको छ ।’

यहाँका कतिपय विद्यालय जाने उमेरका बालबालिका सडक निर्माण, भारी बोक्ने, सार्वजनिक यातायातमा काम गर्ने गरेका छन् भने केही बालबालिका भारतमा समेत काम गर्न जाने गरेको पाइन्छ । प्रधानाध्यापकराई भन्छन्, ‘विद्यालयमा भर्ना अभियान चलाउँछौँ । बालबालिका भर्ना पनि हुन्छन् । तर गरिबीका कारण पढाइलाई निरन्तरता दिन सक्दैनन् । उनीहरुलाई श्रम गर्नु पर्ने बाध्यता छ ।’

सानै उमेरमा विवाह गर्ने कारण पनि कतिपय बालबालिकाले पढाइ छाडेर श्रम गर्न बाध्य भएका छन् । उमेर नपुगी विवाह गर्दा पारिवारिक बोझले उनीहरुले श्रम गर्नुपर्ने अवस्था रहेको छ । खास गरेर १० देखि १८ वर्षसम्मका बालबालिका यसबाट प्रभावित हुने गरेको टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीयवासी कृत्रिमान विष्टले बताए । उनले भने, ‘बालश्रम अन्त्यका लागि राज्यको तहबाट जति नै प्रयास भए पनि त्यो कार्यान्वयन भएको पाइँदैन ।’

नेपालको संविधानको मौलिक हकको धारा ३९ (४) मा बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने, धारा ५१ राज्यका नीतिअन्तर्गत झ (३) मा बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा यो व्यवस्था भए पनि अहिले पनि धेरै बालबालिका विभिन्न कारणले बालश्रम गर्न बाध्य छन् ।

खासगरी १४ देखि १८ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ तर बालश्रम ऐन २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण कामको सूचीमा राखेर त्यस्ता लगाउन नपाइने स्पष्ट उल्लेख छ । बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बालविधुवा बालश्रम, घरेलु बालश्रमिक, इँटा कारखानामा काम गर्ने बालश्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बालश्रमिकलाई यसभित्र समावेश गरिएको छ । समाजमा विद्यमान गलत क्रियाकलापले बालबालिकालाई सामाजिकीकरण र जीवन जिउने सीपको विकासमा असर मात्र पुगेको छैन राष्ट्रका भोलिका कर्णधार मानिने आजका बालबालिकाको भविष्य अन्योलमा पर्नेछ । कतिपय बालबालिका पारिवारिक संरक्षणको अभावमा कूलतमा लाग्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसले परिवार, समाज र सिङ्गो राष्ट्रलाई नै ठूलो नोक्सानी गर्ने हुँदा बालबालिकाको पढाइ, हेरविचार र सही बाटोमा हिँडाउन अभिभावक, समाज र राष्ट्रकै दायित्व हुन आउँछ ।

+2 School
Counseling
Bachelors Portal