SEE Result 2082

नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयबीच सहकार्य

नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन बीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी भएको सम्झौताका लागि काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद दिदै प्रहरीका कर्मचारीका सन्ततिलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततिलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए । विश्वविद्यालयका उपकुलपति प्राडा थापाले नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताए ।

साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले बताए । उक्त सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र नौवटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्नेछ ।

सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलको समग्र शैक्षिकस्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ । उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइँटेल एवं प्रहरी वरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो ।

+2 School
Counseling
Bachelors Portal