SEE Result 2082

सेवानिवृत्त शिक्षकको शैक्षिक उन्नयनमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता

कैलालीका सेवानिवृत्त शिक्षकहरू आफूहरूसँग रहेको विज्ञतालाई स्थानीय पालिकाले प्रयोग गर्न नसकेको बताउँछन् । कैलालीको टीकापुरमा भएको सेवानिवृत्त शिक्षकको भेलाले शैक्षिक सुधारमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल निवृत्त शिक्षक समाज कैलालीका अध्यक्ष डिल्लीराज जोशीले स्थानीय पालिकाले निवृत्त शिक्षकको विज्ञता प्रयोग गर्न नसकेको बताउ । “हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन्, तिनलाई स्थानीय पालिकाले प्रयोग गर्न सक्छन्”, उनले भने, “स्थानीय पालिकामा शिक्षाका समस्या पहिचान, सुधारका लागि उपायको खोजी र समाधानमा हामी सहयोगी हुनेछौँ, हामी निःशुल्क सहयोग गर्नेछौँ । तपाईँहरू हाम्रो विज्ञता प्रयोग गर्न सक्नुहुनेछ ।”

अध्यक्ष जोशीले पालिकामा हुने नगर शिक्षा समिति, परीक्षा समितिजस्ता अन्य समितिमा निवृत्त शिक्षकले आफ्नो योगदान दिनसक्ने बताए । अर्का निवृत्त शिक्षक भक्तिराम कोइरालाले पालिकामात्र नभई विद्यालयले पनि आफूहरूलाई प्रयोग गर्न सक्ने बताए । “कुनै विद्यालयमा कुनै विषयगत शिक्षक बिदामा बस्दा, बिरामी हुँदा कक्षा खाली हुन्छ, हामीसँग विषयगत शिक्षक हुनुहुन्छ, त्यस्तो विद्यालयमा हामी निःशुल्क पढाइदिन्छौँ”, उनले भने, “कहिलेकाहीँ एउटै विद्यालयमा चार–पाँचजना शिक्षक बिदामा बस्नुपर्ने हुन्छ । त्यस्तो बेला हामी सहयोगी हुन्छौँ । हामी दुई–तीन महिनासम्म निःशुल्क अध्यापन गरिदिन तयार छौँ । खै तपाईँहरूले प्रयोग गरेको ?”

नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष महेन्द्रसिंह बम पालिकाले अनुरोध गरेका निवृत्त शिक्षक समाज शैक्षिक गुणस्तर सुधारका लागि जस्तोसुकै सहयोग गर्न सहयोग तयार रहेको बताए । “हामी शिक्षण गरेर निवृत्त भयौँ, शैक्षिक सुधारका योजना बनाउँदा पनि निवृत्त शिक्षकको सहयोग लिन सकिन्छ”, उनले भने, “विद्यालय, समाज र पालिकाले शिक्षकको विज्ञता प्रयोग गर्न सक्नुपर्छ ।”

निवृत्त शिक्षक यज्ञमूर्ति अर्यालले निवृत्त शिक्षक एक्लो बस्दा बूढो हुने बताउँदै सङ्गठित भएमा ऊर्जा मिल्ने बताए । “जोसँग ऊर्जा छैन त्यो मानिस बूढो हो, हामीसँग ऊर्जा छ, अनुभव छ”, उनले भने, “यो ऊर्जा बचाइराख्न हामी सङ्गठित भएका हौँ । यसले हामीलाई अहिले पनि शिक्षा क्षेत्रमा काम गर्न प्रेरणा मिलेको छ ।”

निवृत्त शिक्षक तथा नेपाल शिक्षक सङ्घ कैलालीका संस्थापक अध्यक्ष गजबहादुर बमले आफू विसं २०२८ मा शिक्षक सेवामा प्रवेश गरेको र शिक्षा सुधार र शिक्षक हकहितका लागि थुप्रै प्रयास गरेको स्मरण गरे । “शिक्षक निवृत्त हुँदैमा भूमिका सकिँदैन, म अहिले पनि नियमित अध्ययन गर्छु”, उनले भने, “देशको शिक्षाको अवस्थामा अहिलेको अवस्थाबारे जानकार छु । त्यसैले विभिन्न ठाउँमा सुझाव दिने गरेको छु ।”

टीकापुर नगरपालिका नगरप्रमुख रामलाल डगौरा थारूले निवृत्त शिक्षकको बौद्धिकता कसरी प्रयोग गर्ने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए । “यहाँहरूको सुझावलाई मनन गरेको छु, शिक्षकको विज्ञता शिक्षा क्षेत्र सुधारमा प्रयोग गर्न छलफल गर्नेछु”, उनले भने, “यहाँहरूको कार्यालय टीकापुरमा स्थापनाका लागि सक्दो सहयोग गर्नेछु ।”

यसैबीच, टीकापुरमा भएको भेलाले पालिकास्तरीय नयाँ नेतृत्व चयन गरेको छ । निवृत्त शिक्षक समाज टीकापुरको अध्यक्षमा ज्योतिप्रसाद बुढाथोकी, उपाध्यक्षमा रीमा शर्मा, सचिवमा हीराचन्द्र बराल, कोषाध्यक्ष जगत्बहादुर थापा चयन भएका छन् । समाजको महिला सदस्यमा राधा शर्मा, सदस्यमा बाबुराम चौधरी, मोहनबहादुर रावल, चेतराज शर्मा, शालिग्राम शर्मा चयन भएका छन्।

–––

+2 School
Counseling
Bachelors Portal