SEE Result 2082

ट्रान्सकिप्ट वितरण कार्यलाई विकेन्द्रित गर्न त्रिविलाई समितिको निर्देशन

त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीहरुको लब्धांकपत्र (ट्रान्सकिप्ट) लाई विकेन्द्रीकरण गरी सहज प्राप्तिको व्यवस्था मिलाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निर्देशन दिएको छ ।

समितिको सुझाव कार्यान्वयन गर्न समितिको साउन १९ को निर्णयानुसार ‘विद्यार्थी भर्ना, परीक्षा र नतिजालाई व्यवस्थित गर्न तत्काल क्यालेण्डर प्रणाली लागू गर्ने’ निर्देशन दिएको हो ।

सो बैठकमा त्रिविलाई बौद्धिक चोरीका घटनालाई निरुत्साहित गरी वौद्धिक विरासतको विकास गर्न निर्देशन दिएको छ ।

समितिले शिक्षालाई सीप र सीपलाई रोजगारसंग आवद्ध गर्न पाठ्यक्रमलाई सान्दर्भिक, समय सापेक्ष र व्यवहारिक बनाउन आवश्यक पहल गर्न निर्देशन दिएको समिति सचिवालयले जानकारी दियो ।

समितिको बैठकले सामुदायिक तथा आंगिक क्याम्पसको सम्बन्धन दिदा दुर्गम स्थानलाई प्राथमिकता दिने, उच्च शिक्षा ऐनको लागि प्रक्रिया अघि बढाई शीघ्रातिशीघ्र संसदमा पेश गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

नेपाली युवालाई विदेश जानबाट रोक्न, निरुत्साहित गर्न र विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउन नीतिगत, कार्यगत र प्रणालिगत सुधार गर्न निर्देशन दिएको छ ।

अंग्रेजी विषय र प्राविधिक बाहेक साधारण विषयको प्रश्नपत्रमा अंग्रेजी र नेपाली दुवै माध्यममा प्रश्नपत्र तयार गर्ने व्यवस्था मिलाउने, त्रिविको अनुसन्धान तथा विकास केन्द्रलाई विद्यार्थी सन्तुष्टि सर्वेक्षण र पेशागत परामर्श गर्ने कार्यमा पनि संलग्न गराउन निर्देशन दिएको हो।

विद्यार्थी तथा महिला प्राध्यापक दुर्व्यवहारमा पर्ने गरेको गुनासो सुनिएको सन्दर्भमा त्यस्ता घटनाको उचित सम्बोधन गर्न संयन्त्र स्थापना गर्न भनिएको छ। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी शिक्षक अनुपात मिलाउन दरवन्दी मिलान तथा पुनर्सरचना गर्न समेत निर्देशन दिएको हो ।

त्रिविको गुणस्तर सुधार गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधार योजना तयार गर्नु पर्ने आवश्यकता समितिले औंल्याएको छ । विश्वविद्यालयको परिणाम समयमा नै प्रकाशित गरी शैक्षिक क्षति रोक्ने, विश्वविद्यालयबाट हुने समकक्षताको सन्दर्भमा समकालीन परिवेश सुहाउदो आधार र मापदण्ड विकास गर्ने समितिले त्रिविलाई सुझाएको छ।

विश्वविद्यालयलाई सेन्टरफर एक्सलेन्सको रुपमा विकास गर्न योग्यता प्रणालीलाई प्राथमिकता दिइ विभागीय प्रमुखमा पेशागतरुपमा दक्ष प्राध्यापक रहने व्यवस्था मिलाउने निर्देशन दिएको समितिका सदस्य सचिव निर्मलादेवी लामिछानेद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal