SEE Result 2082

बूढानीलकण्ठमा करार मूल्याङ्कन थालियो

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण सिकाइको परीक्षण र प्रधानाध्यापकसँगको कार्य सम्पादन करारको मूल्याङ्कन सुरु गरेको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले १९ मध्ये आजसम्म १६ वटाको मूल्याङ्कन सम्पन्न गरिसकेको छ । तीमध्ये चार वटा विद्यालय अनुत्तीर्ण भएका छन् । कार्य सम्पादनका विभिन्न २६ सूचकमा न्यूनतम ८० अङ्क ल्याउनुपर्ने हुन्छ । पूर्णाङ्क एक सय तोकिएको छ ।

नगरपालिकाले गत पुस १८ र १९ गते प्रधानाध्यापकसँग विभिन्न २६ बुँदाको करार सम्झौता गरेको थियो । हरेक चार महिनामा करार मूल्याङ्कन गर्ने परिपाटी सुरु गरिएको छ ।

महाशाखाका प्रमुख ललितविक्रम सिंहले प्रधानाध्यापकलाई उत्तरदायी, जिम्मेवार र जवाफदेही बनाउन नगरपालिकाले पहिलोपटक यस्तो मूल्याङ्कन सुरु गरेको बताए ।

उनले हरेकपटक करार मूल्याङ्कनका बेला सर्वाेत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यालयलाई दुई लाख रुपियाँ र प्रधानाध्यापकलाई २५ हजार रुपियाँ प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइने बताए ।

यसैबीच आज महाँकाल जनजागृत माध्यमिक विद्यालयमा गई नगरपालिकाले मूल्याङ्कन गरेको छ । सो विद्यालयले ८०.५ अङ्क प्राप्त गरेको छ । यस्तो मूल्याङ्कन प्रधानाध्यापकका साथै शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा गर्ने गरिएको छ ।

विद्यार्थी भर्ना सञ्चालनसम्बन्धी कार्यक्रम गरे नगरेको, सबै कक्षा र विषयका कोर्स शतप्रतिशत अध्यापन गरे नगरेको, तीन वटै परीक्षाको नतिजा अभिभावकलाई सम्प्रेषित गरे नगरेको, प्रधानाध्यापकको विद्यालय कार्य दिन २२० दिनभन्दा बढी भए नभएको, प्राप्त बजेटबाट तोकिएको समयमा कार्य सम्पादन भए नभएको, शिक्षक कर्मचारीसँग कार्य सम्पादन करार गरे नगरेको लगायतका २६ बुँदा कार्य सम्पादन सूचक तय गरिएको छ ।

महाशाखाका अधिकृत इन्द्र दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको गुनासो आएकाले करार मूल्याङ्कन थालिएको जानकारी दिए ।

 

 

 

+2 School
Counseling
Bachelors Portal