SEE Result 2082

परीक्षालाई, परीक्षाकै मर्म, मर्यादा र प्रतिष्ठा सहितको पहिचान निर्माणबारे चर्चा

परीक्षा भन्ने बित्तिकै शिक्षण संस्थाहरुले लिने जाँच भन्ने बुझ्‌नुलाई स्वभाविक भन्नै  पर्दछ । परीक्षालाई विद्यार्थी मूल्याङ्कनको प्रमुख औजारको रुपमा स्विकार गरिएको छ । निश्चित ज्ञान र सीप हासिल पश्चात शिक्षार्थीको स्तर मापनका लागि विभिन्न औजारको प्रयोग गर्ने परम्परा यस युगमा मात्र हैन, मानव सभ्यताका आदिकाल देखि हुँदैं आएका दृष्टान्त हाम्रा पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ ।

परीक्षाको शुद्धता, वैधता र विश्वसनियताले नै विद्यार्थीको सहि मूल्याङ्कन कायम गर्नेमा शंका छैन । दुनियाँका आज सम्मका कुनै पनि परीक्षा विवादरहित भने बन्न सकेका छैनन् । यो दुखदः पक्ष हो । मात्रात्मक वा गुणात्मक कोणबाट कुनै परीक्षा ज्यादा विवाद पूर्ण पाईएका छन् भने कुनै केहि कम विवाद र कुनै भने थोरै आलोच्य भएका पनि छन् । कतिपय परीक्षा विवादित भएकै कारणले पुनः गर्नु परेका उदाहरण हामी संग अनेकौं छन् ।

हाम्रो सन्दर्भमा शिक्षण संस्थामा संचालित परीक्षाहरु अधिक विवादित बन्ने गरेका तथ्यहरुले राष्ट्रकै शैक्षिक ब्यवस्थामा बारम्वार प्रश्न उब्जाएको छ । रोजगारका लागि संचालित शिक्षा सेवा आयोग, लोक सेवा आयोग, प्रहरि तथा सेनामा प्रवेशका परीक्षाहरु र सरकारी संस्थानका परीक्षाहरु लगायतका कुनै पनि परीक्षाहरु प्रशंशनीय बन्न सकेनन् । यस आलेखमा शिक्षण संस्थाका परीक्षाका शुद्धताका सबालमा बहस प्रारम्भको प्रयत्न गरिएको छ ।

वर्तमान अभ्यास

परम्परागत अनौपचारिक परीक्षा प्रणालीमा टेकेर वर्तमानको औपचारिकता अभ्यास गरिएको तथ्यमा थप चर्चा गरिरहन नपर्ला । निश्चित तह वा कक्षाका लागि पाठ्यक्रमले निर्धारण गरेको पाठ्यवस्तु संग सम्वन्धित ज्ञान र सीप लिने दिने काम सम्पन्न पश्चात आवधिक रुपमा शिक्षार्थीको क्षमता दक्षताको जाँच गरिन्छ । तोकिएको विषयवस्तुको ज्ञान र सीपको सिकाई उपलब्धिको समग्र मापन नै मूल्याङ्कन हो ।

स्कूल वा कलेजको परीक्षा भन्ने बित्तिकै विद्यार्थीले परीक्षा हलमा दुई देखि चार घण्टा  सम्म बिताउने अर्को शब्दमा भन्दा पेपर पेन्सिल टेष्ट भन्ने बुझाई सबैमा छ । यो परम्परागत परीक्षा प्रणाली हो । यस अन्तर्गत, विद्यार्थीले लेख्ने, तोकिएको मिति र स्थानमा सिमित समय भित्र निश्चित दायरा र शर्तको अधिनस्थ रहि खास सबालका खास जवाफका आधारमा सम्वन्धित विद्यार्थीको एक सेमेष्टर वा एक वर्षे अवधिको सिकाई उपलब्धिको मापन नै हाम्रो परम्परागत परीक्षा प्रणाली बन्दै आएको छ । वर्ष भरी राम्रो गर्ने तर परीक्षामा विविध कारणले लेख्न नसक्नेको हकमा उपचार ब्यवस्था छैन ।

बिरामी वा अस्वस्थता, घरायसी समस्या तथा अन्य तनावका कारणले उक्त तिन घण्टाको अवधि गुजार्न सकसमा परेका विद्यार्थीले जीवन पर्यन्त ब्यहोरेका पिडाहरु हामीले सुनेका र देखेका छौं । सैद्धान्तिक परीक्षाको यो स्थिति छ भने अर्को तर्फ प्रयोगात्मक परीक्षाको नाममात्र प्रयोग भएको अर्थात औपचारिकता पूरा गर्ने झण्डै कूल पूर्णाङ्कको एक चौथाई मूल्याङ्कनलाई पूर्णाङ्कको नजिक अंक दिने उता सैद्धान्तिकमा भने बीस प्रतिशत पनि मुस्किलले प्राप्त हुने अवस्थाले अंक दिनेलिने दुबैलाई गिज्याई रहेकोमा बिमति छैन । प्रयोगात्मक परीक्षामा फेल गरेको भएको पनि भेटिदैंन ।

नीतिगत ब्यवस्था

बिगतमा तत्कालिन निम्न माध्यमिक तहको अन्तिम कक्षा ८को परीक्षा जिल्लास्तरमा र माध्यमिक तहको अन्तिम परीक्षा अर्थात एसएलसीको परीक्षा नियन्त्रण कार्यालय अनि उच्च माध्यमिक तहको अन्तमा कक्षा ११ र १२ दुबैको परीक्षा उच्च माध्यमिक शिक्षा परिषद बाट संचालन हुँदैं आएको थियो ।

विश्वविद्यालय स्तरको वार्षिक वा सेमेष्टर परीक्षा सम्वन्धित विविका परीक्षा नियन्त्रण कार्यालयबाट संचालन हुँदै आएको छ ।

शिक्षा ऐनको आठौं संसोधन —२०७३ ले कक्षा १२ सम्म विद्यालय तह कायम गरी उच्च माध्यमिक शिक्षा परिषद खारेज गर्यो । माध्यमिक तहमै कक्षा १० को र कक्षा १२को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट संचालन हुने गरि तोकियो । यद्यपि कक्षा १० अर्थात एसईई को परीक्षा भने प्रदेश स्तरमा गर्ने भनिए पनि अझै कार्यान्वयन भैसकेको छैन ।

कक्षा ११ को परीक्षा विद्यालयलाई नै जिम्मा लगाउँदै कक्षा १२ को भने राष्ट्रिय परीक्षा बोर्डबाट संचालन हुँदै आएको छ । नतिजा प्रकाशनमा अक्षराङ्कन पद्धति लागु गरिएकाले परिक्षार्थी फेल नहुने तर नन ग्रेडेडहरु कक्षा प्रमोशनका लागि योग्य हुँदैंनन् ।

धेरैले मौका परीक्षा मार्फत उपल्लो तहमा अध्ययनको अवसर पाएका छन् । मौका परीक्षाका लागि भने मापदण्ड तोक्ने काम परीक्षा बोर्डले गर्दै आएको छ । यद्यपि, मापदण्ड पनि आलोचना बाट मुक्त हुन सकेका छैनन् ।

परीक्षा संचालनका प्रक्रिया तथा विधिहरु

परीक्षा संचालनका प्रक्रिया तथा विधिहरु समेत विवादरहित बन्न नसकेको वर्तमान सन्दर्भमा नतिजा प्रकाशनमा वर्षेनी समस्या पाईएको छ ।

एसईई —२०८०को नतिजामा पुनर्योगबाट ५ प्रतिशत विद्यार्थीहरुको नतिजा फेरबदल भएको छ । फेरबदल पश्चातका नतिजा अझ उच्च ग्रेडमा देखाईएको छ । यो एक उदाहरण मात्र हो ।

परीक्षक परीक्षणमा गम्भिरता नभएकै कारणले अनेकौं विद्यार्थीहरुको नतिजामा समस्या देखिएको छ । यहि नतिजाको परिणामकै कारणले केहि विद्यार्थीले आत्म हत्या गरेका समाचार मिडियामा आएको धेरैलाई थाहा छ । प्रसंग एसईईको मात्र हैन, कक्षा १२ को नतिजा पनि उत्तिकै विवादित बन्दै आएको छ ।

त्यस्तै विश्वविद्यालय तहका परीक्षामा त झनै प्रश्न पत्र नै गत वर्षको कपि पेष्ट गर्ने, पाठ्यक्रम बदलिएकोमा प्रश्न निर्माताको ध्यानै नजाने, एउटा विषयको जाँचमा अर्कै विषयको प्रश्नपत्र वितरण गर्ने, उत्तरपुस्तिका नै हराउने, फेरी दोहर्याएर जाँच लिने, नतिजामा समेत ब्यापक त्रुटी भएका समाचारले हाम्रो उच्च शिक्षा थप आलोच्य बन्दै आएको छ । यस प्रकारका लापरबाहीपूर्ण ब्यवहारले विद्यार्थीमा नैराश्यता र खिन्नता उत्पन्न हुनु अन्यथा होईन ।

विद्यमान विधि

प्रश्नपत्र छपाई गर्ने अर्थात तयारी गर्ने ।  कडा सुरक्षाका बिच प्रश्न प्याक गर्ने,प्रहरी चौकीमा प्रश्नपत्रका थैला पुर्याउने, केन्द्राध्यक्षहरुको वैठक हुने, भत्ता ब्यवस्थापन गर्ने, परीक्षा केन्द्रका गेटमा परीक्षार्थीहरुको चेकजाँच हुने, परीक्षा केन्द्रमा जिल्लाका ठूला मान्छेहरुको ताँतीले अनुगमन गर्ने, रजिष्टरमा उत्कृष्ट परीक्षा संचालन लेखिएका हरफहरु सहित हस्ताक्षर गर्ने, फोटो सेशन गर्ने, पत्रकारहरु परीक्षाहल भित्रगैई विद्यार्थीको विचार रेकर्ड गर्दै प्रसारण गर्ने, उतरपुस्तिका (उ.पु. )कपडाको थैलोमा लाहाछाप सहित प्याक गर्ने, प्रहरीका साथमा उक्त कापी चौकी लगे पछि पहिलो चरण पूरा हुन्छ । यी क्रियाकलापहरु कति जायज नाजायज छन् , थप एक एक विश्लेषण गर्नै पर्ने हुन्छ ।

त्यस्तै अभ्यास गरिएको , एक जिल्लाको कापी भिन्न जिल्लामा लाने, उ.पु. कोडिङ गर्ने, परीक्षण केन्द्रमा परीक्षकहरुको भिड हुने, परीक्षक बन्न बनाउन सोर्सफोर्स लाग्ने, कतै कमिशनको कारोबार पनि हुने, परीक्षकलाई उत्तर पढ्न भन्दा पनि रातो मार्किङ गर्न प्रतिस्पर्धा हुने किनकि उ.पु. संख्याको आधारमा रकम पाईने हुन्छ ।

त्यस्तै सम्परीक्षणको काम पनि यस्तै शैलीबाट सम्पन्न गरिन्छ । उ.पु. डिकोडिङ गरेर परीक्षण केन्द्रका कर्मचारीबाट मार्क स्लिपको फाईल तयार गर्ने र बोर्डमा पठाउने महत्वपूर्ण भनिने काम यो चरणमा सकिन्छ । अनि, परीक्षा बोर्डका गोप्यकोठामा मार्क स्लीपबाट कम्प्युटर पोष्टिङ गर्ने काम सकिए पश्चात मात्र ग्रेडिङ सिस्टमको सफ्‌टवेयरमा ईन्ट्री गरेर ग्रेड कायम गरिन्छ । केहि ग्रेस अंकका काम सकेर नतिजा प्रकाशनको तयारी प्रक्रियामा प्रवेश हुन्छ । यो एसईईको मात्र उदाहरण हैन, कक्षा १२ र विश्वविद्यालय तहका परीक्षाका अवस्था पनि यो विधि भन्दा तात्विक अन्तरका छैनन् ।   

अहिले कक्षा १२ को परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र ई मेलबाट परीक्षा केन्द्रमा पठाउने कामबाट गरे त हामी पनि परिवर्तनका लागि सक्षम छौं भन्ने साबित गरेको छ । यो सकारात्मक र एक स्टेप वैज्ञानिक भन्नै पर्दछ ।

यद्यपि, यो ईमेल विधिमा सुधार गर्नैपर्ने पक्षहरु धेरै हुँदाहुँदैं पनि यो एक प्रगतीशील पाईलो भन्नै पर्दछ । एसईईमा पनि यो सम्भव नभएको भन्ने स्थिति छैन । यो परीक्षाको प्राविधिक विषय हो । प्राविधिक तथा विश्वविद्यालय स्तरका परीक्षामा पनि प्रश्नपत्र ई मेलबाट उपलब्ध गराउन सकिन्छ भन्ने साबित भै सक्दा पनि फेरि पुरानै शैलीमा जानेकाम उपयुक्तु भन्न सकिदैंन ।

परीक्षा केन्द्रमा प्रहरीको उपस्थिति विशिष्ट अवस्थामा मात्र हुनुपर्ने हो , सामान्य स्थितिमा प्रहरीको जरुरी पर्दैन । अनुगमन र प्रचारको काम पनि आवश्यकता भित्र पर्दैनन् ।

प्रविधिको प्रयोगबाट सिधै परीक्षा बोर्डका पदाधिकारीले आफ्‌नो अफिसबाट परीक्षाहलको अनुगमन गर्न सकिन्छ । बिस्तारै प्रविधिबाट सफ्‌टवेयर मार्फत अनलाईन परीक्षा तर्फ उन्मुख बन्ने स्थितिमा परम्परागत शैलीमै अल्मलिनुलाई सकारात्मक भन्न सकिदैंन ।

हिजो यस्तो थियो , गत वर्ष जस्तो गरियो , यो वर्ष पनि त्यसै गरी गर्नु पर्छ भन्ने यथास्थितिवादका पक्षधरहरुको बोलवाला भएकै कारणले न परीक्षा प्रणालीमा सुधार भयो न त समग्र विद्यार्थी मूल्याङ्कन नै समयानुकूल बन्न सक्यो ।

विद्यार्थी मूल्याङ्कन

विद्यार्थी मूल्याङ्कनलाई सैद्धान्तिक र ब्यवहारिक तथा प्रयोगात्मक वा आन्तरिक र बाह्य परीक्षा भन्न सकिन्छ । अर्थात ज्ञान र सीपका विविध पक्ष्रहरुमा स्तर अनूसार तहगत रुपमा मापनका उपयुक्त औजारहरु निर्धारणका लागि अन्तरक्रिया गर्न ढिलो भएको महसुस गरिएको छ ।

सैद्धान्तिक ज्ञानको स्तर कुन तहमा रहेको छ भनेर वस्तुगत र विषयगत प्रश्नहरु निर्माण गरिन्छ । यो नयाँ होईन । यसप्रकारको परीक्षालाई थप प्रभावकारी र सान्दर्भिक बनाउन स्थानिय तह, प्रदेश स्तर र केन्द्रमा गरी तिनवटा परीक्षा बोर्डको विधिपूर्वक ब्यवस्था गर्नैपर्छ । यी परीक्षा बोर्डले सम्वन्धित स्तरमा समन्वय गरी परीक्षा संचालन र नतिजा प्रकाशन समेतको काम गर्न सक्छन् ।

हामीले गुणस्तरका अधिक चर्चा गर्छौ ,त्यो गुणस्तरका क्षेत्रमा परीक्षा बोर्डको महत्वपूर्ण भूमिका रहनुपर्दछ । अर्को तर्फ आन्तरिक वा प्रयोगात्मक मूल्याङ्कनबाट विद्यार्थीको ब्यवहारिक परिवर्तन संगै हासिल गरेको सीपको मापन गर्ने काम सम्वन्धित विद्यालयबाट गर्नु राम्रो हुन्छ ।

विद्यार्थीको उपस्थिति, गृहकार्य, ब्यवहारमा परिवर्तन, कक्षाकार्य, प्रोजेक्ट वर्क, सिप सिकाईको प्रदर्शनी, अनुशासनको अवस्था, जस्ता शिर्षकमा आन्तरिक तथा प्रयोगात्मक मूल्याङ्कन पारदर्शी र विश्वश्नीय बनाउनु पर्दछ । यसो गर्दा, हचुवा अंक दिने र सबैलाई पास गर्ने परम्पराको अन्त्य हुनेछ ।

संक्षिप्तमा,परीक्षालाई परीक्षा जस्तै बनाउन जिम्मेवार पक्षहरुबाट तपसिलका पढ्दा सरल तर अनुभूतिमा गम्भिर रहेका बुँदाहरुमा थप ध्यानाकर्षण गर्दछु ।

 क. प्रश्नपत्र निर्माण— परम्परागत र औपचारिकताका लागि हतारमा काम सक्ने शैलीबाट अलग गरि पाठ्यक्रम,पाठ्यवस्तु, विषयगत पाठ्यशिर्षकहरु, बिस्तृतीकरणका पक्षहरु, विषयगत र वस्तुगतपक्षका मापन आधारहरु, समय संगको तारतम्यता र सीमा, प्रश्नको जटिल तथा मध्यम अनि सरलताको प्रतिशत, शुद्धता र स्पष्टता जस्ता सबालमा गहिराईमा पुग्नै पर्दछ ।

ख. परीक्षा ब्यवस्थापन— परीक्षा केन्द्रको निर्धारणका लागि पर्याप्त फर्निचर सहितको आधुनिक भवन, दक्ष र इमान्दार जनशक्ति ब्यवस्थापन, प्रश्नपत्र तथा उत्तरपुस्तिकाको उपलब्धता, परीक्षार्थीहरुको वैज्ञानिक प्लानिङ, जिम्मेवार ब्यक्तिहरुबाट सिसि क्यामेरा मार्फत परीक्षाको अनुगमन र निरिक्षण, उत्तरपुस्तिकाको ब्यवस्थापन जस्ता कुराहरुमा त्रुटीरहित बन्नु बनाउनु पर्दछ ।

ग. उत्तरपुस्तिका परिक्षण — यो अर्को संवेदनशील पक्ष हो । परीक्षण केन्द्रको निर्धारण,उपु कोडिङ, दक्ष र योग्य विशेषज्ञहरु बाट मार्किङ स्किमको प्रयोग सहित परीक्षण, त्रुटीरहित अंक प्रदान र सो को जोड अनि संपरीक्षण समेतमा गम्भिर हुनै पर्दछ ।  

घ. नतिजा प्रकाशन पूर्वका प्राविधिक पक्षहरु जस्तो परीक्षार्थीहरुको रजिष्टे्रशन नम्वर संग सिम्बोल नम्वर र नामथर उनीहरुको विषय संगै प्राप्ताङ्कको सहि इन्ट्री अत्यन्त महत्वपूर्ण पक्षहरु हुन् । यो प्रक्रियामा रत्तिपनि कमजोरी हुनै हुँदैन् । पुनर्योगका लागि आवेदन बढ्नु कदापि सकारात्मक हुनै सक्तैन । नतिजा प्रकाशन भैरहँदा राम्रो संग रुजु गरेर मात्र प्रकाशन हुनु पर्दछ । नतिजाले विद्यार्थीको सहि मूल्याङ्कन गर्नै पर्दछ । कमजोर विद्यार्थीको कम अंक र राम्रा विद्यार्थीको उच्च अंक हुनै पर्दछ । नतिजाले विद्यार्थीको यथार्थ क्षमता प्रदर्शन गर्नु पर्दछ । 

अन्तमा,  अभ्यासले धेरै सिकाएको छ । असल अभ्यासको अनुशरण र कार्यान्वयनमा कत्तिपनि संम्झौता गरिनु हुदैंन ।

परीक्षा बोर्डको नीति,निर्देशिका, निर्णयहरु, विधिहरुको अक्षरशः पालनाले परीक्षालाई समयानुकुल परिमार्जन र वैज्ञानिकिकरण गर्ने हो ।

पछिल्ला वर्षहरुमा क्रमशः सुधार भैरहेको पृष्ठभूमीमा सान्दर्भिक परीक्षा बोर्डको संरचना र यसका जिम्मेवार योग्य र दक्ष जनशक्ति पनि अर्को विशेष पक्ष हुन् ।

कतिपय परीक्षा केन्द्रका हुल हुज्जत, चिटिङ, अमर्यादित र नाम मात्रका परीक्षा प्रत्येक वर्ष देखिनु सुनिनुलाई दुर्भाग्यपूर्ण भन्नै पर्दछ । यस प्रकारका गतिविधि निषेध गर्नै पर्दछ । तोकिएको काम तोकिएको ब्यक्तिबाट हुने ईमान्दारीता र लगनशीलता संगै कर्तब्यपालनले मात्र परीक्षाको प्रतिष्ठा र मर्यादा कायम गर्ने यथार्थ हामीले बुझ्‌नै पर्दछ ।

+2 School
Counseling
Bachelors Portal