SEE Result 2082

नेपाली समाजमा अंग्रेजी मोहको विमर्श

आज नेपाली समाजमा अंग्रेजी भाषाप्रतिको मोह यति धेरै बढेको छ कि यो एक चिन्ताको विषय बनेको छ । अभिभावकहरू आफ्ना छोराछोरीले शुद्ध नेपाली बोल्न, लेख्न वा पढ्न नजानेकोमा खासै चिन्तित देखिँदैनन्, तर उनीहरूले टुटेफुटे अंग्रेजी बोलेकोमा भने गर्व गर्छन् । छिमेकीसँगको प्रतिस्पर्धा र देखासिकीमा धेरै अभिभावकले आफ्नो आर्थिक अवस्थाले नधान्दा पनि छोराछोरीलाई 'अंग्रेजी माध्यम' भनिएका निजी विद्यालयमा भर्ना गरिरहेका छन् ।

अंग्रेजी माध्यमका विद्यालयहरूको वास्तविकता

नेपालमा 'अंग्रेजी माध्यम' भनेर सञ्चालन गरिएका धेरै निजी विद्यालयहरूको वास्तविक अवस्था भने फरक छ । यी विद्यालयहरूको वातावरण न त पूर्ण रूपमा अंग्रेजीमय छ न त त्यहाँ अध्यापन गराउने शिक्षकहरूको योग्यता र क्षमता नै सोही अनुरूप छ । वास्तविकतामा, यी विद्यालयहरूले अभिभावकहरूलाई भ्रममा पारिरहेका छन् । भित्र एक र बाहिर अर्कै अवस्था देखिन्छ, जसले शिक्षाको गुणस्तरमाथि प्रश्न चिह्न खडा गरेको छ ।

पछिल्लो समय, सामुदायिक विद्यालयहरू पनि अभिभावकहरूको यस अंग्रेजी मोहलाई बुझ्न बाध्य भएका छन् । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न र विद्यार्थी आकर्षित गर्नका लागि उनीहरूले पनि सकिनसकी अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरिरहेका छन् । यद्यपि, यी विद्यालयहरूमा पनि वास्तवमा अंग्रेजीमय वातावरण पाउन मुश्किल छ ।   सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यमका कक्षा सञचाल गर्नाले अभिभावकहरूलाई भने केही राहत मिलेको छ, किनकि निजी विद्यालयको तुलनामा कम शुल्कमा उनीहरूले 'अंग्रेजी माध्यम' को शिक्षा आफ्ना छोराछोरीलाई दिन पाएका छन् । अर्कोतर्फ, केही अभिभावकहरूले निजी विद्यालयमा आचरण बिग्रिएका विद्यार्थीहरूलाई तह लगाउने स्थानको रूपमा पनि सामुदायिक विद्यालयलाई हेरेका छन् र उपयोग समेत गरिरहेका छन् ।

'ब्रोइलर' विद्यार्थी र शिक्षा प्रणालीको विकृति

दुःखको कुरा, विद्यार्थीहरूले अंग्रेजी माध्यममा सिक्नुपर्ने गरी सिकिरहेका छैनन् । मेरो अनुभवमा, अधिकांश विद्यार्थीहरू न त अंग्रेजी माध्यमका भएका छन् न त नेपाली माध्यमका नै । उनीहरू खासमा 'ब्रोइलर कुखुरा' जस्ता भएका छन्, जसको आफ्नै मौलिक पहिचान छैन, सक्षमता छैन र सृजनशिलता त पटक्कै छैन बरु परनिर्भर छन्, हरेक कुरा तयारी अवस्थामा दिनुपर्छ । विद्यालयहरूले अंग्रेजी माध्यमको अध्यापनका नाममा वास्तवमा 'ब्रोइलर विद्यार्थी फार्म' चलाइरहेका छन्, जहाँ विद्यार्थीहरूलाई केवल 'पास' गराउने उद्देश्यले पढाइन्छ, वास्तविक ज्ञान र सीप विकासमा जोड दिइँदैन जीवन तयारीका लागि सिकाइदैन ।

यस विषयमा सरोकारवाला निकायहरूलाई पनि खासै चासो रहेको देखिँदैन । कोही जागिरको धुनमा छन् भने कोही राजनीतिको दौडमा । विद्यार्थीहरू स्वयं पनि भविष्यका लागि सक्षम बन्नुपर्छ भन्नेमा कमै चासो राखेको र कमै चिन्तित देखिन्छन्, किनकि उनीहरूको अन्तिम लक्ष्य नेपालमा बस्नुभन्दा पनि विदेश जानु बनेको छ ।

प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालले आफ्नो निबन्धमा 'अंग्रेजीको मोह तर आपदमा नेपाली भाषा प्रयोग गर्नुपरेको' जुन प्रसङ्ग उल्लेख गर्नुभएको छ, त्यो आजको नेपाली समाजको यथार्थसँग मेल खान्छ। हामी अंग्रेजीप्रति जतिसुकै लालायित भए पनि, संकटको बेला वा मौलिक अभिव्यक्ति दिनुपर्दा नेपाली भाषा नै हाम्रो सहारा बन्छ । यो विरोधाभासले हाम्रो शिक्षा प्रणाली र सामाजिक मानसिकतामा गम्भीर प्रश्नहरू खडा गरेको छ ।

अन्ततः, नेपाली समाजमा बढ्दै गएको अंग्रेजी मोहले हाम्रो मौलिक भाषा र संस्कृतिमाथि चुनौती खडा गरेको छ । यसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर र भविष्यमा पार्न सक्ने नकारात्मक प्रभावबारे सबै सरोकारवालाहरू गम्भीर हुन जरुरी छ । सबैलाई मेरो प्रश्न छ- “के हामी साँच्चै आफ्नो पहिचान गुमाएर 'ब्रोइलर' पुस्ता तयार पार्न चाहन्छौं?”

अस्तु !

+2 School
Counseling
Bachelors Portal