SEE Result 2082

नेपाल संस्कृत विश्वविद्यालयका शाखा अझै दाङ आएनन्

लमही, ३ जेठ (रासस):  नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । 

सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।

उहाँका अनुसार अहिलेको डिन कार्यालयलाई नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा सार्ने र सोही भवनमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढेको हो । “पदाधिकारीको बैठकले डिन कार्यालयलाई अहिलेको आयुर्वेद शिक्षण अस्पतालमा सार्ने गरी सहमति गरेर प्रक्रिया अघि बढाएको छ”, उहाँले भन्नुभयो, “अबको १०/१५ दिनमा ती दुई कार्यालय अहिलेको डिन कार्यालयबाट सञ्चालन हुनेछन् ।”

डिन कार्यालयबाट ती शाखाहरु सञ्चालन भएसँगै संस्कृत अध्ययन केन्द्रको निर्देशक नियुक्ति हुने र काम अघि बढ्ने विश्वविद्यालयका उपलेखा नियन्त्रक हरिबहादुर जिसीले बताउनुभयो । अनुसन्धान केन्द्रको निर्देशक भने अहिले काठमाडौँमा बस्दै आएको र दाङमा शाखा सञ्चालन भएपछि दाङमै आउने उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतले गत वर्ष भदौमा केन्द्रीय कार्यालय दाङबाटै सञ्चालन गर्ने आदेश गरेको भए पनि दाङबाट सञ्चालन हुन नसकेको भन्दै दाङमा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनहरुले आपत्ति जनाउँदै आएका छन् ।

यसरी काठमाडौँमै सीमित थिए शाखाहरु

विसं २०४३ मा नेपाल संस्कृत विश्वविद्यालय दाङको बेलझुण्डीमा सञ्चालन भयो । त्यतिबेला अहिलेजस्तो यातायाता, सञ्चारको पहुँच नभएपछि काठमाडौँमा रहेका कुलपति, सह–कुलपतिलगायत सम्बन्धित अन्य निकायसँग समन्वय तथा सम्पर्क गर्न काठमाडौँमा विभिन्न चारवटा शाखाहरुका सम्पर्क कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा शाखा र राष्ट्रिय अनुसन्धान केन्द्र काठमाडौँबाट सञ्चालनमा ल्याइयो थियो । 

विज्ञान, प्रविधि, यातायातको विकास भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङबाटै ती शाखाहरु सञ्चालन गर्दा उपयुक्त हुने आवाज उठ्न थाल्यो । 

सोही अनुसार मन्त्रिपरिषद्को बैठकले समेत ती शाखाहरु दाङमा स्थापन गर्ने निर्णय गर्‍यो तर केही सीमित व्यक्तिहरुले ती शाखाहरु केन्द्रीय कार्यालय दाङमा ल्याउन नदिने रणनीति शुरु गरेपछि दाङ ल्याउन चुनौती थपिएको शिक्षा अध्यक्ष रमेशप्रसाद ढकालले बताउनुभयो ।

तीन वटा शाखा ल्याइयो

चारवटा शाखामध्ये अनुसन्धान केन्द्रबाहेक अन्य शाखाहरु दाङ ल्याइसकिएको छ । 

गएको वर्ष जेठ १० गते मन्त्रिपरिषद्को बैठकले काठमाडौँबाट सञ्चालित ती शाखाहरु केन्द्रीय कार्यालय दाङबाट सञ्चालन गर्ने भनी निर्णय गरेको थियो । सोही अनुसार कुलपति र सहकुलपतिले विश्वविद्यालयलाई ती शाखाहरु दाङ स्थानान्तरण गर्न निर्देशन दिइसकेका थिए । 

सम्पर्क कार्यालय र परीक्षा शाखालाई गएको वर्ष असार अन्तिमतिर दाङ ल्याइएको थियो भने राष्ट्रिय सांस्कृतिक केन्द्रलाई पनि दुई/तीन दिनअघि दाङ ल्याइएको थियो तर निर्देशक काठमाडौँ बस्दै आएका थिए ।

दाङ अनुसन्धानको केन्द्र बन्नेछ:  शिक्षाध्यक्ष

ती शाखाहरु आए दाङ अनुसन्धानको केन्द्र बन्ने विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो । देशभरिबाट अनुसन्धानमा विद्यावारिधि गर्न दाङ आउनेछन् । ती शाखाहरुका कारण दाङ समृद्ध बन्ने उहाँको भनाइ थियो । “ नेपालका मात्रै होइन, विश्वभरका मान्छेहरु अनुसन्धान अध्ययन गर्न दाङ आउनेछन्”, उहाँले भन्नुभयो, “यसले दाङलाई समृद्ध बनाउन ठूलो टेवा पुग्नेछ ।”

+2 School
Counseling
Bachelors Portal