SEE Result 2082

धुलिखेलमा ‘वातावरण भवन’ बन्यो

काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले  ‘वातावरण भवन’  निर्माण गरेको छ ।

विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ विभागका डा. विकास अधिकारीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तीन करोड ११ लाखमा भवन निर्माण भएको जानकारी दिए।

सो भवन उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले काठमाडौँ विश्वविद्यालय प्राविधिक क्षेत्रको विषयमा अरु विश्वविद्यालयमध्येमा उदाहरणीय बन्दै गएको बताए ।

विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए ।

विश्वव्यापीकरणको युगमा इच्छाएको देशमा गएर अध्ययन गर्न पाउनु स्वभाविक भए पनि नागरिकले पढ्न चाहेको शिक्षा देशभित्रैबाट प्राप्त गर्न पाउने वातावरण विश्वविद्यालयहरुले बनाउनुपर्नेमा उनको जोड थियो ।

 “नागरिकले चाहेको शिक्षा देशभित्र नै प्राप्त हुनुपर्छ, त्यस्तो शिक्षा प्रदान गर्नु विश्वविद्यालयको दायित्व हो”, उनले भने,  “राज्यले तोकेको प्रक्षेपणअनुसार कुन प्रकृतिको जनशक्ति कति उत्पादन गर्ने भन्ने विवरण विश्वविद्यालयहरुले निर्धारण गर्नुपर्छ ।”

विश्वविद्यालय खुल्दै जाने र पुरानै खालको विषय बढाउँदै जाने हो भने सङ्ख्या मात्रै थपिन्छ तर सङ्ख्याभन्दा पनि गुणस्तरमा जोड दिन उनले आग्रह गरे ।

मन्त्री पौडेलले प्रदेशलाई पनि संविधानले दिएको अधिकारअनुसार विश्वविद्यालय खोल्ने मान्यता दिएको बताए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सरकारको नीति तथा बजेटमा काठमाडौँ विश्वविद्यालयलाई पनि नयाँ कार्यक्रम परेको उल्लेख गर्दै त्यसले नेपालको विकासको अर्को मोडेलमा जाने काममा थप सहयोग पुग्ने बताए।

+2 School
Counseling
Bachelors Portal