SEE Result 2082

बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा

हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ ।

जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताए । परीक्षा सकेर जाडो छल्नका लागि बेँसी झर्न धमाधम परीक्षा भइरहेको उनको भनाइ छ ।

“जाडोमा अभिभावकसँगै विद्यार्थीहरु बेँसी झर्छन्”, उनले भने, “जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन् ”

इकाइको तथ्याङ्कका अनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी छन् ।

कक्षा ६ देखि १२ सम्मका पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको प्रमुख चपाईंले जानकारी दिए । उनका अनुसार कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जनाको छ ।

चामे गाउँपालिकामा १७६, नासों गाउँपालिकामा १७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको उनले बताए ।

जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यार्थीविहीन हुँदा खाली भएको उनले जानकारी दिए ।

“विद्यालयको भवन र शिक्षक छन् । विद्यार्थी छैन । यस्तो अवस्थामा विद्यालय बन्द छन्”, उनले भने, “केही विद्यालयमा इसीडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी छैनन् ।”

बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर राखेर पठनपाठन गराउन थालेकाले विद्यार्थीको सङ्ख्या कम भएको उनले बताए । मनाङमा इसीडीमा एक सय ६६, कक्षा १ देखि ५ सम्म एक सय ४६, कक्षा ६ देखि ८ सम्म एक सय नौ जना विद्यार्थी छन् ।

साथै कक्षा नौ र १० मा ८३, कक्षा ११ र १२ मा ४१ गरी कूल पाँच सय ४५ विद्यार्थी छन् । मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक छन् ।

चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको इकाइले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal