SEE Result 2082

विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

बाजुरा, ३० असार (रासस) : शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ बाजुराद्वारा सञ्चालित खाजा कार्यक्रमले विद्यार्थीहरुको विद्यालयप्रति आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । 

दिवा खाजाका रूपमा विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाको फूलबारी आधारभूत विद्यालय काँडाका प्रधानाध्यापक शेरबहादुर बुढाले बताउनुभयो ।

विसं २०५७ देखि विद्यालयमा विद्यार्थीका लागि लिटो खुवाउने गरिएको भए पनि पछिल्लो सयममा विद्यालयमा लिटो बन्द गरेर दाल र भात खुवाउन थालिएको हो । विद्यालयमा विद्यार्थीलाई दिवा खाजाका रूपमा दाल र भात खुवाउन थालिएपछि यसको प्रभावकारिता झनै बढ्दै गएको विद्यालयले बताएको छ ।

विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि अहिले विद्यार्थी दिवा खाजाको आशले आफैँ स्वस्फूर्तरूपले तयार भएर स्कुल जाने गरेको स्थानीयवासीले बताउने गरेका छन् । 

जिल्लाका बडीमालिका र बूढीगङ्गा नगरपालिकाबाहेकका सात वटा स्थानीय तहका ५० वडामा १४२ आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालित छ ।

कार्यक्रमले बाजुरामा १६ हजार ७६८ छात्रछात्रालाई प्रतिदिन प्रतिविद्यार्थी ११२ ग्रामका दरले विश्व खाद्य कार्यक्रमको सहयोगमा खिचडी दालभात विद्यालयमै बनाई दिवा खाजाका रूपमा खुवाउने गरेको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालय बाजुराका एकाइ प्रमुख विजयकुमार ठाकुरले जानकारी दिनुभयो ।

विद्यालयमा विद्यार्थीहरुका लागि दिवा खाजा पकाउने भाँडाकुँडा पनि उपलब्ध गराइएको उहाँको भनाइ छ । यो कार्यक्रमले बालबालिकाको पोषण र स्वास्थ्यस्थितिमा पनि सुधार हुनाका साथै सरसफाइ र सामाजिक विभेदीकरणमा समेत कमी आएको ठाकुरको भनाइ छ । 

दिवा खाजा कार्यक्रमपछि विद्यालयमा भर्नादरमा समेत वृद्धि भएको र कक्षा छोडी बीचैमा भाग्ने प्रवृत्तिमा समेत कमी आएको विद्यालयले बताएको छ ।

+2 School
Counseling
Bachelors Portal