SEE Result 2082

पूर्व शिक्षकलाई सहकर्मीको स्वास्थ्य चिन्ता

भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका पूर्व शिक्षकहरुले आफ्ना पूर्व सहकर्मी शिक्षक तथा कमर्चारीको स्वास्थ्य सुरक्षाका लागि कोषमा आफ्नो पारिश्रमिकको केही रकम प्रदान गर्ने भएका छन् । सहकर्मीको स्वास्थ्यलाई सुरक्षित बनाउने उद्देश्यले शिक्षक तथा कर्मचारीको स्वास्थ्य कोषमा आफ्नो पारिश्रमिकको केही प्रतिशत रकम प्रदान गर्ने घोषणा विद्यालयबाट भर्खरै सेवा निवृत्त भएका शिक्षकले गरेका हुन् ।

सेवा निवृत्त शिक्षकहरु शोभा प्रधान, ज्ञानसागर प्रजापति र रामप्रसाद सुवालले सो कोषका लागि रकम प्रदान गर्ने घोषणा गरेका हुन् । विद्यालयबाट हालै सेवा निवृत्त भएका तीनै जना शिक्षकले विद्यालयमा हिजो आयोजित विदाई तथा सम्मान कार्यक्रममा प्रधानले दुई लाख र प्रजापति र सुवालले एक एक लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

बागीश्वरी माविलाई देशकै नमुना र अनुकरणीय बनाउने कार्यमा अहोरात्र खटिने शिक्षकले आफू सो विद्यालय छाडेर निवृत्त जीवन बिताउने बेला पनि सह्रानीय काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र ज्याख्वले बताए । ‘बागीश्वरी माविले भक्तपुरको उन्नति र प्रगतिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ उनले भने, ‘यसका लागि शिक्षकको भूमिका अनुकरणीय छ ।’

विद्यालयले आयोजना गरेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालाई शिक्षक प्रधानले रु। दुई लाखको चेक हस्तान्तरण गरेको र अन्य शिक्षकले पनि कोसमा रकम जम्मा गर्ने घोषणा गरेको अध्यक्ष ज्याख्वले जानकारी दिए ।

सो कार्यक्रममा अवकाश प्राप्त शिक्षकहरु पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, प्रावि तहका शिक्षकहरु शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मान पत्र र विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

+2 School
Counseling
Bachelors Portal