SEE Result 2082

निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा

शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो ।

मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा प्रशिक्षण शुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, “स्याङ्जा जिल्लाको यो पहिचानलाई जोगाउँदै आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित यो प्रशिक्षण सञ्चालन गरिएको छ ।”
 
पहिलो चरणमा निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि तयारी गरिरहेको नगरप्रमुख खाँणले बताउनुभयो ।
 
नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगरउपप्रमुख कल्पना तिवारीले दाबी गर्नुभयो । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ ।
 
नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको भनाइ छ ।
 
“तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निःशुल्क कक्षा सञ्चालन गर्छौं”, अधिकृत सुवेदीले भन्नुभयो, “लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान वालिङ नगरपालिकामै पहिलो पनि हो ।”
 
नायब सुब्बा र खरिदारका लागि सञ्चालन भएको तयारी कक्षा तीन–तीन महिना अवधिका लागि हुने शिक्षा शाखाप्रमुख उपसचिव बाबुराम सापकोटाले बताउनुभयो । लोक सेवा आयोगको तयारी कक्षाका लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष ननाघेका महिलालाई सहभागी बनाइएको शाखाप्रमुख सापकोटाले बताउनुभयो । 
 
नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि १५ दिनको सूचना प्रकाशन गरेकामा ३१५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट १५५ जना छनौट गरी निःशुल्क तयारी प्रशिक्षण कक्षामा सहभागी बनाइएको छ । सहभागी भएकाहरुलाई बिहान र बेलुकामा कक्षा सञ्चालन थालिएको शिक्षा शाखाप्रमुख सापकोटाले बताउनुभयो । 

+2 School
Counseling
Bachelors Portal