SEE Result 2082

पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले नो अब्जेक्सन लेटर ‘एनओसी’ लिएका छन् ।

यो तथ्याङ्कले विशेष गरी युवा पुस्ता मुलुकमा टिक्न नचाहने डरलाग्दो अवस्थाको चित्रण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा करिब एक लाख १४ हजार जनाले नो अब्जेक्सन लेटर लिएका थिए ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको नो अब्जेक्सन प्रमाणीकरण शाखाले गत साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूको तथ्याङ्क आज सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार यस अवधिमा नो अब्जेक्सन लेटर लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ ।

सो शाखाका अनुसार यस अवधिमा ५९ मुलुकका लागि ‘नो अब्जेक्सन लेटर’ लिइएको छ । सबैभन्दा बढी अष्ट्रेलियाका लागि यस्तो लेटर लिएका छन् । अष्ट्रेलिया जान १० हजार ७९९ जनाले लेटर लिएका छन् ।

यसैगरी जापानका लागि छ हजार ६२५ जनाले, क्यानडाका लागि छ हजार ५३१ जनाले, बेलायतका लागि पाँच हजार ३०४ जनाले, भारतका लागि एक हजार ९० जनाले, युएईका लागि ९१३ जनाले, रुसका लागि ९७२ जनाले, कोरियाका लागि ७४४ जनाले, न्युजिल्याण्डका लागि ३९६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् ।

सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्याण्ड, जर्जिया, पाकिस्तान र स्वीट्जरल्याण्डका लागि एक एक जनाले नो अब्जेक्सन लेटर लिएका छन् । अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र नो अब्जेक्सन लेटर लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ घटेको देखाउँछ । कुनै बेला सबैभन्दा बढी नो अब्जेक्सन लेटर लिने मुलुकमा अमेरिका पथ्र्याे । पछिल्लो तथ्याङ्कले विद्यार्थीको आकर्षण अष्ट्रेलियातर्फ बढेको प्रष्ट गरेको छ ।

यस अवधिमा चीन, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, थाइल्याण्डमा जाने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय रहेको पाइन्छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले नो अब्जेक्सन लिएकामध्ये ६० देखि ७० प्रतिशतसम्म मात्र विदेशिने अनुमान गर्ने गरेको छ । नो अब्जेक्सन लेटर लिएकामध्ये कति विदेशिन्छन् भन्ने भन्न सकिँदैन ।

 

 

 

+2 School
Counseling
Bachelors Portal