SEE Result 2082

शिक्षक महासंघको तीन घण्टा धर्ना मण्डलामा

नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्व घोषित चौँथो चरणको कार्यक्रम अनुसार शिक्षकहरुले आज विहान १० बजेदेखि १ बजेसम्म धर्ना दिएका हुन् ।

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने लगायतका माग ३४ सूत्रीय माग राखी शिक्षक महासंघ गत वैशाख २० गतेदेखि आन्दोलनमा छ । आफूहरुले राखेका मागमध्ये हालसम्म कोरोना खोपसम्बन्धी मात्रै सुनुवाइ भएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि निर्णय गरे पनि स्पष्ट नभएको, स्थानीय पालिकाहरुको सन्जालले यसको दायित्व लिन नसकेको बताए ।

सरकारले प्रारिम्भक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्घि गरेर १५ हजार दिइने बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो । जसमा संघीय सरकारले आठ हजार र बाँकी स्थानीय तहले बेहोर्नुपर्ने जनाएको थियो । महासचिव सुवेदीले भने, ‘यो निर्णय स्पष्ट छैन । यसलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आफ‍ूहरुलाई आश्वासन मात्रै दिएर ढाँटेको आरोप संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले लगाए । ‘विद्यालय शिक्षक, कर्मचारीको न्यूनतम तलब पुर्‍याउँछौँ भन्नु भयो तर संघ र स्थानीय सरकारले तलब व्यहोर्ने नाममा अहिले समस्या सिजर्ना भएका छन् ।’ उनले भने, ‘स्थानीय तहले अहिले धमाधम विज्ञप्ति निकाल्दै तलब दिन नसक्ने जानकारी गराउन थालेका छन् ।’

बिहान १० बजेदेखि शुरु भएको धर्ना कार्यक्रम दिउँसो एक बजेसम्म हुने महासंघले जनाएको छ । महासंघले भदौ ११ गतेसम्मका लागि हरेक शुक्रबार आन्दोलनका कार्यक्रम तालिका यसअघि नै घोषणा गरिसकेको छ।

+2 School
Counseling
Bachelors Portal