SEE Result 2082

अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने किसिमको शिक्षा वर्तमानको आवश्यकता भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज यहाँ आयोजित ‘पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने’ विषयक कार्यक्रममा बोल्दै उहाँले अहिलेको युग व्यावसायिक शिक्षाको युग भएको र यसको जिम्मा राज्यले लिनुपर्ने धारणा राख्नुभयो ।

काङ्ग्रेसको शिक्षा नीति अन्तर्राष्ट्रियस्तरसँग प्रतिस्पर्धा गर्ने खालको रहेकोमा जोड दिँदै उहाँले शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क प्रदान गर्न सकेमात्रै विश्व बजारसँग नेपाली युवा प्रतिस्पर्धा गर्नसक्ने धारणा राख्नुभयो । नेपालको वर्तमान शिक्षा व्यावहारिक नहुँदा विश्व बजारमा नेपालीको श्रमको मूल्याङ्कन हुन नसकेको बताउनुभयो । देशमा भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको बताउँदै उहाँले सरकारका मन्त्रीले नै भ्रष्टाचार संरक्षण गर्न र आफू नजिककालाई ठेक्कापट्टा र कमिसनतन्त्रमा लगाएको आरोप लगाउनुभयो ।

पूर्वमन्त्री सुरेन्द्र चौधरीले कास्की, पर्सा र चितवनमा पार्टीभित्र ठूलो अन्तरघात हुने गरेको दाबी गर्दै पार्टीमा असमझदारी भए पनि पार्टीभित्र हुनुपर्ने उल्लेख गर्नुभयो । लोकतान्त्रिक समाजवादमा पुग्ने माध्यम नै शिक्षा भएको हुँदा शिक्षामा सबैको पहुँच हुनुपर्ने र सामुदायिक शिक्षाको गुणस्तर बढाउन सकेमात्रै शिक्षा सबैका लागि सहज हुने उहाँले बताउनुभयो । शिक्षाविद् विद्यानाथ कोइरालाले राजनीतिकले नभै दलीय करणले मात्र शिक्षा क्षेत्र बिग्रिएकोे बताउनुभयो ।

नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस नेता शुक्रराज शर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, महिला सङ्घ कास्कीकी सदस्य कोपिला रानाभाट, नेविसङ्घका केन्द्रीय सदस्य पुनम भट्टलगायतले शिक्षा सबैका लागि आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा काङ्ग्रेसका भातृ सङ्गठनका अध्यक्ष तथा महासचिव र सचिव तथा शिक्षा क्षेत्रको व्यक्तिको सहभागिता थियो ।

+2 School
Counseling
Bachelors Portal