SEE Result 2082

विश्वविद्यालय सम्बन्धी ऐन नआउनु दुखदः महामन्त्री थापा

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् ।आज कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले छिट्टै उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्नेमा जोड दिए ।

‘शिक्षाका बारेमा संविधानमा त्यत्रा कुराहरु बोलेका छौँ । संविधानमै हामीले प्रदेश सरकारलाई जिम्मेवारी दिएका छौँ । उच्च शिक्षाका कुराहरुमा पनि साझेदारीका कुराहरु गरेका छौँ । तर यत्रो ठूलो परिवर्तन पछाडि चाहिं हामी विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुराको सन्दर्भमा मूल विषयमा प्रवेश गर्न चाहेनौं’ उनले भने, ‘फेरी विश्वविद्यालय खोल्ने होड चलेको छ तर ऐन छैन, बाग्मती प्रदेशले यस सम्बन्धी ऐन ल्याइसकेको छ, लुम्बिनीमा खुलीसकेको छ ।’

महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।

उनले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

‘नेपालको विश्वविद्यालय शिक्षा कतातिर लिएर जाने ? विश्वविद्यालय प्रशासन कसरी सञ्चालन गर्ने ? यस्ता विषयहरुलाई अब नपन्छाएर हामी यसमा काम गर्न तयार छौं । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर काम गर्न तयार छौं । ‘तर यसको लिडरसिप धेरै हदसम्म त्रिभुवन विश्वविद्यालयकै टिमले लिनुपर्ने हुन्छ’ उनले भने ।

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । विश्वविद्यालयमा जिम्मेवारीमा रहने व्यक्तिले राजनीतिक पूर्वाग्रह राखेर काम गर्न नहुने उनको भनाइ छ ।

+2 School
Counseling
Bachelors Portal