SEE Result 2082

जुम्लामा उच्च शिक्षा छात्रवृत्ति पुग्यो

कर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले वर्षेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत विनियोजन गर्ने बजेट रकम नौ जिल्लामा गए पनि चालू आवमा जुम्ला भने छुटेको थियो ।

मन्त्रालयले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

जुम्लाका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत रु १४ लाख ८० हजार निकासा पठाएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले राससलाई जानकारी दिए ।

छुटेको बजेट व्यवस्थापन गर्न असोज १६ गते नै सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लागत बजेट खर्चमा सामाजिक विकास कार्यालय जुम्लाको छात्रवृत्तितर्फको बजेट विनियोजन नभएको व्यहोरा जानकारी गराउँदै सो बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालय गत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन कार्यालय प्रमुख सुनारले मन्त्रालयलाई सम्बोधनको पत्राचार गरेका थिए ।

बजेटका सन्दर्भमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जुम्लाको छात्रवृत्तिका लागि रकमान्तरको फाइल आर्थिक मामिला मन्त्रालयले दिँदा पनि उक्त फाइल च्यापिराखेको भन्दै सामाजिक विकास मन्त्रालयले जतिभन्दा पनि आर्थिक मामिला मन्त्रालयले सुनुवाइ नगरेको बताएका  थिए ।

कार्यालय प्रमुख सुनारले भने मन्त्रालयलाई पत्राचार गर्नाका साथै बेलाबेलामा मौखिकरूपले पनि घच्घच्याए पनि त्यसको सहज सुनुवाइ भएको थिएन । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले छात्रवृत्तिको बजेट नपर्नुमा जुम्ला सामाजिक विकास कार्यालयको कमजोरी भएको दोषारोपण गरेका थिए ।

उच्च शिक्षा छात्रवृत्तिको बजेट जुम्लाका लागि सम्बोधन हुन्छ कि हुँदैन भन्ने राससको प्रश्नमा सचिव पौड्यालले आगामी आर्थिक वर्षमा मात्र बजेट जाने जवाफ दिएका थिए ।

अन्ततः जुम्लाका लागि बजेट छिटो निकासा हुँदा ठूलो राहत पुगेको कार्यालय प्रमुख सुनारले जनाउनुभयो । सामाजिक विकास कार्यालय जुम्लाका अनुसार प्राप्त बजेटमा उच्च शिक्षा छात्रवृत्ति छोरीबुहारीतर्फ रु एक लाख नबढाई १०, दलित र अपाङ्गतर्फका छात्रवृत्तिमा प्रतिव्यक्ति रु २४ हजारका दरले १०/१० जना गरी कूल जम्मा ३० जनालाई उपलब्ध गराइने र त्यसका लागि विद्यार्थीको आवेदन लिने काम शुरु भएको छ ।

+2 School
Counseling
Bachelors Portal