SEE Result 2082

‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काठमाडौँ विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ ।

केयूले स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो ।

देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गर्ने सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरु गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए  । उनले भने। “देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङको अध्यापन सुरु गर्न लागेका हौँ ।”

नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ ।

“पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ”, उनले भने । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ ।

सो विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत उनको दाबी छ । नेपालमा खानी इञ्जिनियरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ ।

यस्तै केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो ।

+2 School
Counseling
Bachelors Portal