SEE Result 2082

दुर्गमका विद्यालयमा बन्यो कोदोको आइसक्रिम

विद्यालयले दिवा खाजामा कोदोबाट बनेका विभिन्न परिकार प्रयोग गर्न थालेका छन् । विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, भटमासकोअचार,  फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका हुन् ।

म्याग्दीका केही विद्यालयमा रैथाने बालीबाटै विभिन्न  परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ ।  रैथाने बालीको संरक्षण र प्रवर्धन गर्दै जंक फुड निशेध गर्न स्थानीय बालीबाटै विभिन्न खालका परिकार बनाउन थालिएको छ ।

स्थानीय तहहरूले अभिभावक र चमेनागृह सञ्चालकलाई आयात गरिएको तयारी पत्रुखाना ‘जङ्क फुड’को विकल्पमा रैथाने बालीका खाद्यान्नबाट परिकार बनाउने तालिम दिए पछि विद्यालयले रैथाने बालीबाट परिकार बनाउन थालेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले विद्यालयमा ‘जङ्क फुड’ निषेध गर्नका लागि १, २, ३ र ६ नम्बर वडाका अभिभावकलाई रैथाने बालीबाट खाजाको परिकार बनाउने तालिम दिएको जानकारी दिइन् । ‘अभिभावक र विद्यालयको चमेनागृहका सञ्चालकलाई पोषणयुक्त खाजा बनाउने ज्ञान र सीप सिकाउन बाँकी चार वटा वडामा पनि तालिम चलाउने तयारीमा छौं’ उनले भनिन्,‘आयातित अस्वस्थ्कर जङ्क फुडको विकल्पमा रैथाने खाद्यवस्तुबाट परिकारको प्रयोगमा जोड दिएका छौं ।’

बेनी नगरपालिकाको कृषि शाखाले विद्यालयका २० जना चमेनागृह सञ्चालकलाई गत हप्ता रैथाने बालीका परिकार बनाउने तालिम प्रदान गरेको छ ।

कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सीलगायतका रैथाने बालीबाट खाजाका परिकार बनाउने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सीप प्रदान गरिएको बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुङ्गानाले जानकारी दिइन् ।

धौलागिरि गाउँपालिका–३ मा रहेको धौलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरकफरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेको बताए । ‘अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिका नै बनाएका छौ‘ उनले भने, ‘खर्चको पनि बचत भएको छ ।’ सरकारले प्रतिविद्यार्थी १५ का दरले दिवा खाजाका लागि अनुदान दिने गरेको छ ।

बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालय परिसरको खाली जमिनमा तरकारी खेती गरेको प्रधानध्यापक रामप्रसाद शर्माले बताए ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले अस्वस्थकर परिकारको प्रयोग घटाउन र रैथाने बालीका खाद्यान्न प्रयोगमा जोड दिएको जानकारी दिइन् ।

+2 School
Counseling
Bachelors Portal