SEE Result 2082

विद्यालयलाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन मन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन विद्यालयलाई आग्रह् गरेकी छिन् ।सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलमा भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्री श्रेष्ठले आग्रह् गरेकी हुन् । नयाँ शैक्षिक सत्रका लागि विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै बोलाएर भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी भर्ना गर्न आग्रह् गरेकी हुन् ।

‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरूको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनु भएको छ। उहाँहरूको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे’ मन्त्री श्रेष्ठले भनिन्,  ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ।’

छलफलमा तीन वटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए। मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेको मन्त्रीका स्वकीय सचिव आकृति घिमिरेले जानकारी दिइन् । ‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्’, मन्त्री श्रेष्ठले भनिन्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ।’ मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्रिन्सिपललाई अनुरोध गरेकीछिन् ।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यताका आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए। मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गरिन् ।

+2 School
Counseling
Bachelors Portal