SEE Result 2082

विद्यालयमा आधुनिक कम्प्युटर ल्याब

नुवाकोट, १७ पुस (रासस) : विद्यालयमा कम्प्युटर शिक्षालाई प्रभावकारीरूपमा अध्ययन गराउन यहाँको बेलकोटगढी–१० बेलकोटमा रहेको निरञ्जना माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । 

अमेरिकी नागरिकको लगानीमा विद्यालयमा रु १५ लाखको लगानीमा २५ वटा कम्प्युटरसहितको ल्याब स्थापना गरी सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले जानकारी दिनुभयो । 

अमेरिकी नागरिक इलेन इसी ओलोनी, स्टेसी वेट, रस्टी वेटको सहयोगमा विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर कक्ष स्थापना भएको हो । दाता इलेन इसीले ग्रामीण क्षेत्रका विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यो सहयोगले विद्यालयको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने अपेक्षा लिएको समेत बताउनुभयो । 

विद्यालयमा दाताले २५ थान कम्प्युटर, दुई थान ल्यापटप, दुई थान प्रोजेक्टर, दुई थान प्रिन्टर, २५ थान कम्युटर टेबल, २५ सेट तुल, सेतो पाटी २० थान, २५ थान कुर्ची, डिजिटल तराजु एक सेटसहित स्टेशनरी सामान प्रदान गरेको प्रधानाध्यापक शिवराज पाण्डेले जानकारी दिनुभयो । प्रअ पाण्डेका अनुसार विद्यालयका पूर्वविद्यार्थी सुरेन्द्रप्रसाद भट्टको पहलमा विदेशी दाताबाट सहयोग प्राप्त भएको हो । उहाँले दाताहरूले सुविधा सम्पन्न भवन बनाइदिने प्रस्ताव आए पनि विद्यालयको तत्कालको आवश्यकता कम्प्युटर कक्ष भएकाले कम्प्युटर कक्ष स्थापना गरिएको बताउनुभयो । 

विद्यालयको कम्प्युटर कक्ष स्थापनासँगै कम्प्युटर शिक्षा पठनमा सहज हुनेछ । निटक भविष्यमा कक्षा ११ र १२ मा कम्प्युटर साइन्स विषय पढाउने योजना रहेकाले उक्त कार्यमा समेत ल्याब सहज हुने विद्यालयले जनाएको छ । 

बेलकोटगढी नपा–१० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले दाताले दिएको उपकरणको सही उपयोग गरी विद्यालयमा गुणस्तरीय शिक्षाको विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो । 

+2 School
Counseling
Bachelors Portal