SEE Result 2082

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाको अभियान

नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ ।

जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो ।

त्यसैगरी, बाल मैत्री, खेलमैत्री, पर्यावरणमैत्री विद्यालय बनाउने, विद्यालयमा मन्टेश्वरी वतावरण सिर्जना गर्ने र विद्यार्थीलाई वर्षमा दुई पटक निःशुल्क स्वास्थ्य जाँच गराउने अभियान समेत नगरपालिकाले घोषणा गरेको छ ।

अभियानअन्तर्गत ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आइतबार सिरहा नगरपालिका–६ मा रहेको श्री आधारभूत विद्यालय बसपिट्टामा वडा कार्यालयले कक्षा पाँच सम्मका तीन सय ८६ विद्यार्थीलाई पोसाक वितरण गरेको छ ।

भर्ना अभियानलाई सार्थकता दिन नगरपालिकाले सक्रियता बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताउनुभयो । “सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्ण रुपमा शिक्षित हुन्छ । त्यसैले तीनै तहका सरकारले सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भीर हुनुपर्ने समय आएको छ,” अधिकृत यादवले भन्नुभयो, “राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक उत्तिकै इमान्दार हुनुपर्छ, अनि मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुन्छ ।”

+2 School
Counseling
Bachelors Portal