SEE Result 2082

रुदानेलाई नयाँ पुस्ताले पढ्न पाउनुपर्छ : मन्त्री गिरिराजमणि पोखरेल

हेटाँैडा, २६ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्ट अर्थात् रुदानेको जीवनी पाठ्यक्रममा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

नयाँ पुस्तालाई थाहा आन्दोलनका बारेमा जानकारी गराउन पाठ्यक्रममा नै समावेश गरेर जीवनीसहितको पाठ्यपुस्तक आगामी वर्षदेखि लागू गर्नुपर्ने उहाँको धारणा थियो । मन्त्री पोखरेलले अनिवार्य पढाउने गरी तयारी थाल्न निर्देशन पनि दिनुभयो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८५औँ जन्मजयन्तीका अवसरमा फरक सोच अभियानद्वारा आज थाहा नगरपालिकामा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मकवानपुर जिल्लाभित्रको स्कूलमा रुपचन्द्र बिष्टबारे सामग्री तयार पार्न आग्रहसमेत गर्नुभयो । 

मन्त्री पोखरेलले रुदाने दन्त्य कथाको पात्रजस्तो गरी नयाँ पुस्तामा प्रचारित भएकाले रुदानेका बारेमा वास्तविकता थाहा दिन त्यसो गर्नुपर्ने बताउनुभयो । रुदानेको सपना साकार पार्न उहाँको जीवनीको पढाइ हुनुपर्ने उहाँको धारणा थियो । मन्त्री पोखरेलले बिष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । थाहा नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रदेश ३ का सांसदद्वय कुमारी मोक्तान र प्रेमबहादुर पुलामी तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बलराम वल लगायतले मन्तव्य राख्नुभयो ।

+2 School
Counseling
Bachelors Portal