SEE Result 2082

१५ लाख थान मात्र विद्यालय तहका पाठ्यपुस्तक छाप्न बाँकी

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।

 कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले १५ लाख थान मात्र पाठ्यपुस्त्क छाप्न बाँकी छ । थोरै पाठ्यपुस्तक मात्र छाप्न बाँकी रहेको हुँदा चैत्रभरिमा विद्यालयमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए ।

कक्षा छ का लागि आवश्यक कूल २८ लाख ५० हजार पुस्तक मध्ये हालसम्म २८ लाख थान छपाई भइसकेको छ । कक्षा सातका लागि पनि आश्यक २८ लाख ५० हजार थान पाठ्यपुस्तक मध्ये २८ लाख पाठ्यपुस्तक छपाई भइसकेको केन्द्रले जानकारी दियो ।यस्तै कक्षा आठका लागि २९ लाख थान पाठ्यपुस्तक चाहिनेमा आजसम्म २२ लाख थान पुस्तक छपाई भइसकेको छ । थप सात लाख थान पुस्तक छाप्न बाँकी छ । कक्षा ९ का लागि ३२ लाख थान पाठ्यपुस्तक चाहिनेमा हालसम्म २९ लाख पुस्तक छपाई भइसकेको छ । बाँकी रहेको तीन लाख थान पुस्तक चैतभित्रै छपाई र वितरण गरिसक्ने केन्द्रको तयारी छ । साथै कक्षा १० का लागि ३२ लाख थान पुस्तक चाहिनेमा हालसम्म कूल २८ लाख थान छपाई भइसकेको र अब चार लाख थान छपाई हुन बाँकी रहेको केन्द्रको दाबी छ ।

केन्द्रले दैनिक एक लाख २५ हजार थान पुस्तक छपाइ गरिएको  कारण पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिकसत्र सुरु हुनुअगावै जिल्ला जिल्लामा पुस्तक पुग्ने दाबी गरेको छ ।

कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उनले जानकारी दिए ।

प्रबन्ध निर्देशक झाले भने, ‘यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ, एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकी १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ ।’

गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो । गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ ।

छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताए ।

उनले उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गर्ने छ । ‘गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो । कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो । यस वर्ष छपाइमा कुनै समस्या छैन’, शाखाका प्रमुख आचार्यले भने ।

चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पु¥याउने केन्द्रको दाबी छ । केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बाग्मती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउनेक्रम जारी छ ।

लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक झाले भने, ‘यस वर्ष सरकारको योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी केन्द्रका नौ शाखा कार्यालयमा पुस्तक पुर्याइसकेका छौँ, देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ ।’

हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पुर्याउन छ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पुर्याउने उनको भनाइ छ । झाका अनुसार पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको छ ।

पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ ।

सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal