SEE Result 2082

आंशिक प्राध्यापकको आन्दोलन स्थगित

आंशिक प्राध्यापक सङ्घले पृथ्वीनारायण क्याम्पसमा शुरु गरेको आन्दोलन स्थगित भएको छ ।

क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले दैनिक ज्यालादारी प्रथाको अन्त्य हुनुपर्ने माग राख्दै विगत एक हप्तादेखि आन्दोलमा होमिएका थिए । सङ्घको आह्वानमा आंशिक प्राध्यापकले कक्षा वहिस्कार गर्दै आएका थिए ।

कक्षा वहिस्कारका कारण एक हप्ता क्याम्पसको पठनपाठन पूर्ण रुपमा बन्द भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र सङ्घका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्तामार्फत समस्या समाधान गर्न सहमति भएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको सङ्घका अध्यक्ष सुनिल गौतमले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीको पढ्ने अधिकारलाई रोक्न नखोजिएको भन्दै स्ववियु निर्वाचन, आन्तरिक रुपमा चलेका परीक्षा र हिउँदे बिदा पछाडि कक्षा नहुँदा पठनपाठन अस्तव्यस्त भएको भन्दै आन्दोलन तत्कालका लागि स्थगन गरेको बताउनुभयो । क्याम्पस प्रमुख प्राध्यापक चन्द्रबहादुर थापाले आंशिकको मागलाई सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयोे, “यो समस्या आंशिकको मात्रै होइन, समग्र त्रिभुवन विश्वविद्यालयको हो, त्यसैले जती सक्दो चाँडो समस्या समाधान गर्नेतर्फ हामी लागि पर्ने छौ ।”

विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ आंशिक प्राध्यापकहरुले सामूहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका हुन् । सङ्घका सचिव खिमानन्द पौडेलले क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा सञ्चालन भइरहेको र कोर्ष नसकिएको अवस्थामा कक्षा बन्द भएको सूचना जारी गरी पठनपाठन भएको दिनको पारिश्रमिक नदिने गरेको बताउनुभयो । 

+2 School
Counseling
Bachelors Portal