SEE Result 2082

पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन् ।

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा राजेशकुमार ठकुराठीले विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताए ।

युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार  आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अवसरमा उनले भने, “पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरेअनुसारको बनाएका छौँ ।”

सैद्धान्तिक ज्ञानमात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिइएको डिन ठकुराठीले बताउनुभयो । पहिलेपहिले इन्टर्नसिप नहुने गरेकामा इञ्जिनियरिङ सङ्कायमा तीन महिनाको अनिवार्य इन्टर्नसिप गराएको उहाले बताए । डिन ठकुराठीले भले, “सीपमूलक पाठ्यक्रम बनाएका छौँ ।”

स्नातक तहमा क्याम्पसलाई आफूलाई चाहिने विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । छात्रवृत्ति अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले बढी दिएको उनले बताए ।

विश्वविद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । आङ्गीक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रवृत्ति दिने गरेको डिन ठकुराठीले जानकारी दिए । विश्वविद्यालयमा ५८ सम्बन्धन प्राप्त,  आङ्गीक चार र संयुक्त आङ्गीक तीन  कलेज रहेका छन् । विज्ञान तथा प्रविधी सङ्कायमा २० क्याम्पस छन् । तीमध्ये एउटा आङ्गीक, एउटा संयुक्त आङ्गीक र १८ सम्बन्धन प्राप्त छन् । सबै कलेजले विद्यार्थी कोटाअनुसार पु¥याउन नसकेको उनले बताए ।

सो अवसरमा डिन ठकुराठीले चितवन र छिमेकी जिल्लाका लागि प्राथमिकता दिँदैँ यहाँको युनाइटेड टेक्निकल कलेजमा यसै शैक्षिकसत्रबाट ब्याचलर अफ इञ्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी (बिइ आइटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको बताए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल एवं शैक्षिक निर्देशक प्रा डा केशवदत्त अवस्थीले कलेजले बिइ आइटीमा ४८ जना तथा ‘एमएससी इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट’मा हरेक ६ महिनामा ३० विद्यार्थी भर्ना लिनेगरी पठनपाठन गर्न लागिएको बताए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष चूडामणि खनालले हाल कलेजले स्नातक तहमा बीइ कम्प्युटर, बीइ सिभिल, बीइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्स्ट्रक्सन म्यानेजको अध्यापन गराइरहेको बताए । कलेजबाट हालसम्म पाँच सय ९६ इञ्जिनियर उत्पादन भएको उनले बताए । सो अससरमा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवं आइटी विज्ञ प्रा डा सुवर्ण शाक्य,  पुलचोक क्याम्पसका उपप्राध्यापक एवं ट्रान्सपोटेसन इञ्जिनियरिङ विज्ञ डा प्रदीप श्रेष्ठ, जर्नलका प्रधानसम्पादक डा अञ्जयकुमार मिश्र, कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

+2 School
Counseling
Bachelors Portal