शिक्षा क्षेत्रमा हुने राजनीतिको अन्त्य हुनुपर्छः मन्त्री श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताए । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमुना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै उनले शिक्षामा बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था अस्तव्यस्त बन्दै धारासायी भएका कारण राजनीति रोक्नुपर्ने बताए ।

“विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरुवाको विषयमा समेत राजनीति हुने गरेको छ”, मन्त्री श्रेष्ठले भने,, “त्यसकारण शैक्षिक गुणस्तर बढ्नुको साटो झन्झन् खस्किँदै गएको छ, त्यसैले विद्यालयमा हुने राजनीति रोक्नुपर्छ ।” समग्र विकासको मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्रको राजनीतिलाई रोक्न सबै पक्ष गम्भीर बन्न जरुरी भएको धारणा व्यक्त गरे ।

मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउनुपर्ने बताउँदै विद्यालयलाई भौतिकरूपमा मात्र नभई शैक्षिक गुणस्तरीयताको रूपमा समेत नमुना बनाउनुपर्नेमा जोड दिए । उनले महिला हिंसाको अन्त्य, बालबालिकाको सुरक्षित भविष्य र ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि निकट भविष्यमै आफ्नो मन्त्रालयले ठोस योजना ल्याउने जानकारी दिए ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जिल्लाको नमुना विद्यालयको रूपमा पहिचान पाएको यस विद्यालयमा प्रयोगशाला निर्माणसँगै शैक्षिक गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गरे ।

Degrees offered in nepal
Counseling
Bachelors Portal