SEE Result 2082

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

चितवन, ६ असार (रासस) : भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा प्रमुख दाहालले रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै नागरिकको अधिकार र आवश्यकता पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन महानगरपालिका योजनाबद्ध ढङ्गले अगाडि बढेको छ भन्नुभयो ।

महानगरपालिकाले सबै वडाहरुमा यो कार्यक्रम शुरु गर्दैछ । पहिलो चरणमा ३८४ जनाले रोजगार पाउने दाहालले जानकारी दिनुभयो । रोजगारीका लागि महानगरमा चार हजारको निवेदन परेको छ । यसअन्तर्गत वडा नम्बर २२ मा १६ जनाले पारिश्रमिकमा आधारित रहेर २० दिन दैनिक रु ८०० का दरले पारिश्रमिक पाउने गरी वडामा विकास निर्माणमा काम गर्नेछन् ।

सो अवसरमा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह गर्नुभयो ।

महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रद्युम्न उपाध्याय, रोजगार अधिकृत विनोद खराल, वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता रामहरि सेढाइँ, नेपाली काँग्रेसका नेता कुमारप्रसाद थपलियालगायतले बोल्नुुभएको थियो । यस्तै आजै वडा नम्बर २१ मा पनि २२ जनालाई रोजगार दिलाइएको छ ।

+2 School
Counseling
Bachelors Portal