SEE Result 2082

बौद्धिक चोरी गर्ने प्राध्यापक कारबाहीमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने भएको छ ।

सातै जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको हुनाले परिषद्ले कारबाहीको निर्णय गरेको हो ।

त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, विमल कण्ठ र हरेराम मिश्रलाई परिषद्ले कारबाही गरेको छ ।

कार्यकारी परिषद्ले पहिलोपटक बौद्धिक चोरीको आरोपितले हालसम्म विभिन्न जनरलमा छपाएका आर्टिकल अमान्य हुने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाइने र दुई वर्षसम्मै कुनै पनि विद्यार्थीको थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाइने कारबाही गरिएको छ।

त्यसैगरी आंशिक प्राध्यापक रोहित देवलाई भने दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्याम्सहरूमा कक्षा सञ्चालन गर्न नपाइने कारबाही गरिएको छ। कारबाहीका लागि सम्बन्धित कलेजहरूमा पत्राचार भइसकेको त्रिविका कार्यकारी परिषद्ले जानकारी दियो ।

सम्बन्धित लेखकले आफ्नो लेखबाट सारिएका अंश चित्रसहित राखेर त्रिवि उपकुलपति कार्यालयमा बौद्धिक चोरी भएको भन्दै सात जना विरुद्ध उजुरी दर्ता गराएका थिए।

कार्यकारी परिषद्ले त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्राडा रामचन्द्र बस्नेतको संयोजकत्वमा गठन गरेको छानबिन समितिको सिफारिसमा कारबाहीको सिफारिस गरेको हो । समितिले अध्ययन, अनुसन्धान गरी कार्यकारीलाई बुझाएको प्रतिवेदनअनुसार आरोपित सातजना नै बौद्धिक चोरीको दोषी भेटिएको ठहरिएको प्राडा बस्नेतले बताए ।

कारबाहीमा परेका प्राध्यापकको सूचीमा नाम अन्यथा परेको हुँदा सच्याइएको छ ।

सम्पादक

इडियुपत्र

 

+2 School
Counseling
Bachelors Portal