SEE Result 2082

शिक्षक विद्यार्थीमा कोरोना जस्तै लक्षण देखिएपछि विद्यालय बन्द

बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालयका शिक्षक विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको छ । करिब एक हप्तादेखि कोरोनाको जस्तै लक्षण देखिन थालेपछि विद्यालय बन्द गरिएको हो ।

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्टले बताए । विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका हो ।

एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो ।

सो विद्यालयमा दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेका छन् । विद्यालयले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट प्राथमिक उपचार गराए पनि बिरामीमा कुनै परिवर्तन नआएको विद्यालयले जानकारी दियो।

साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको थियो । सो विद्यालयका अन्य शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठिक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताए ।

+2 School
Counseling
Bachelors Portal