विद्यालय तहमै कलेज भन्दै भर्ना

काठमाडौं । माध्यमिक शिक्षा (कक्षा १२ सम्म) लाई  केहि निजी तथा सरकारी विद्यालयले ‘कलेज’ भन्दै विद्यार्थीहरुको भर्ना गरेका छन् । 

सरकारले प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय शिक्षामा समावेश गरे पनि देशभरका अधिकांश शैक्षिक संस्थाले कलेजको नाम दिएर कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको छ । शिक्षा ऐन (आठौं) संशोधनमा बालशिक्षादेखि कक्षा १२ सम्म विद्यालय शिक्षामा परिणत भएको भनिएको छ । यसअघि कक्षा १२ सम्मको शिक्षा विश्वविद्यालयअन्तर्गत थियो । 

विश्वविद्यालय स्तरमा प्रवीणता प्रमाणपत्रका रूपमा सम्बन्धन दिइएको थियो । शिक्षा ऐनमा प्रारम्भिक बालशिक्षादेखि ८ कक्षासम्मको शिक्षालाई आधारभूत र ९ देखि १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाभित्र राखिएको छ ।


                   


 यसअघि १ देखि ५ सम्म प्राथमिक, ६ देखि ८ सम्म निम्न माध्यमिक, ९ देखि १० माध्यमिक ११ र १२ लाई उच्च माध्यमिक मानिएको थियो । सरकारले भने ती शैक्षिक संस्थाको पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । 

निजी विद्यालयको छाता संगठन प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले शैक्षिक संस्थाले उच्च शिक्षा पनि सञ्चालन गरेको भए कलेज भन्न मिल्ने बताए । उनले भने, ‘स्नातक तह वा सो भन्दामाथिका कक्षा सञ्चालन भएको रहेछ भने कलेज भन्न मिल्छ ।’ 


शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहप्रवक्ता दिव्या दवाडीले कक्षा १२ सम्म माध्यमिक शिक्षा भएको भन्दै कलेज भन्न नमिल्ने बताइन् । उनले कक्षा १२ सम्मको शिक्षा माध्यमिक तहको शिक्षा भएको भन्दै कलेज भनेर विद्यार्थी र अभिभावकलाई झुक्याउन नमिल्ने बताइन् ।

तर, नियामक निकाय शिक्षा, विज्ञान प्रविधी मन्त्रालयले अनुगमनलाई प्रभावकारी नबनाउँदा ती विद्यालयहरुको मनोबल बढेर गएको छ । अभिभाबक संघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय भनेरै कक्षा ११ मा विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताउँछन् । 

Degrees offered in nepal
Counseling
Bachelors Portal