SEE Result 2082

सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्री

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ ।

गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत बालविकासका विकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने कम्तीमा  आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिए।

कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रुपमा कक्षा सञ्चालन नभएकाले उनीहरुको सिकाइ निरन्तरका लागि उक्त सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताए । उनले भने, “कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीहरुले पनि पढ्न नपाएका कारण हामीले पढाइमा सहज होस् भनेर स्वअध्ययन सामग्री वितरण गरेका छौँ, जसले गर्दा बालबालिकालाई पढाइमा सहज हुनेछ ।”

संस्थाले वितरण गरेका स्वअध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेनसिल, सार्पनर लगायत शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ । विद्यालय बन्द भएको समयमा अभिभावकको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्न मिल्ने भएकाले ती स्वअध्ययन सामग्री विद्यार्थीका लागि निकै उपयोगी सामग्री रहेको वडा नं ७ का वडाध्यक्ष प्रकाश साउदले बताए ।

+2 School
Counseling
Bachelors Portal